नेपाल बिज्ञापन संघको ११ औ कार्यसमिति निर्वाचनमा सर्वाधिक मत ल्याउने रेग्मी को हुन् ?
News Desk
Jan-10 , 2024 तारिख 01:33 बिहान

रोशन रेग्मी (आरसि) ब्यास ०९, तनहुँ कलेस्तीका स्थायी बासिन्दा हुन् । एक सामान्य पारिवारीक पृष्ठभूमि भएका उनको बुवा घर नजिकैको स्थानीय विद्यालयको शिक्षक र आमा गृहणी थिए । उनका २ दाजुभाई र २ दिदीबहिनी (एउटा दिदी एउटा बहिनी एउटा भाई) छन् । उनले तनहुँमै स्थानीय लक्ष्मी प्रा.वि हुँदै माहेन्द्री मा.वि मा कक्षा ७ सम्म अध्ययन गरे । उनको बाँकि अध्ययन भक्तपुरमा गर्ने बुवा र फुपूको सल्लाहमा उनलाई काठमाडौँ ल्याइयो । १३ बर्षकै कलिलो उमेरमा २०४९ सालमा आफ्नो फुपू दिदीको पछाडि लागेर आर. सि. ले पहिलो पटक काठमाडौँमा पाइला टेके । 

 

फुपू दिदी बिमला रेग्मी पण्डित, सानोठिमी स्थित सानोठिमी क्याम्पस पढ्ने र फुपाजु पब्लिक युथ क्याम्पसमा प्राध्यापनरत थिए। फूपुले आफु पढ्ने क्याम्पस संगैको सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालय (जुन डि यम पि यस स्कूल भनेर चिनिन्छ) मा कक्षा ८ मा उनलाई भर्ना गराई दिइन् । फुपाजुले पढाउने क्याम्पसमा व्यवस्थापन पढ्ने पढाउने कुरा भइरहन्थ्यो, फुपाजुले सधै “नेवारी समुदायका विद्यार्थी घर देखि क्याम्पससम्मनै बिजनेस माइन्डका हुन्छन पढ्नु पर्ने व्यवस्थापन नै हो, बुझिस बाबु” भन्ने गरेको स्मरण गर्दै उनी भन्छन् ’सानै देखि विजनेश शब्दले मेरो मन मस्तिष्कमा जरा गाडेको थियो। अनि के चाहियो मेरो पढ्ने यात्रा अब सानोठिमीबाट सिधै काठमाडौँको क्षेत्रपाटी धोबिचौरको पब्लिक युथ क्याम्पसमा जोडियो’ । 

 

बाल्यकालमा डोहोर्याउने फुपाजु शिवराज उपाध्यायको संरक्षणमा हुर्किएका रेग्मी बि.बि.एस सकेर एम.बि. एस पढाई गर्ने सोचमै रहेका बेला अचानक फुपाजुको स्वर्गबास भयो । यसपछिका दिन आफ्नो भबिष्य बारे अन्यौल बनेका रेग्मीले यहिबीचमा ठमेलको संगीत पसलमा काम गर्ने अवसर पाए। उतिबेला टेप, सि. डि. को राम्रो व्यापार हुन्थ्यो । त्यसबाटै उनको अलि अलि पकेट खर्च चल्थ्यो । कलिलो उमेरमा यो उनका लागि रमाइलो भयो । स्वदेशी विदेशी गीत संगीत बारे राम्रो बुझ्ने अवसर पनि मिल्यो । जुनपछि करियरका दौरान काम लाग्यो । यो बीचमा २०५७ सालमा भाई बहिनी पनि उच्च शिक्षाका लागि काठमाडौँ आए अनि सबैको संघर्षका दिन शुरु भए । यस क्षेत्रमा आफनो भन्ने कोहि पनि नभएको अवस्थामा रेग्मीलाई तपाईं कसरी ? भन्ने जिज्ञासामा उनि भन्छन, "मेरो प्रोफेसनल करियर २०६० सालबाट सुरु भएको हो। " गजबको संयोग योसंगै जोडिएका छन् । त्यो क्यासेट पसलमा काम गर्दाताका नेपालमा भर्खरै एफएम रेडियो जम्न थालेका थिए ।अरुले बोलेको सुन्दा म बढो प्रभावित हुन्थे ।अधिकांश विदेशी पर्यटकलाई टिपिकल नेपाली गीत संगीतका सिडी र विदेशी सोलो रक देखि ज्याज ब्लुजसम्मका गीतका सिडी बेच्ने काम हुन्थ्यो ,गीत संगीत थोरबहुत प्रभाव थियो तर रेडियोमा प्रवेश गर्ने हुटहुटी थियो । कसरी यस क्षेत्रमा जोडिए म आफै अनविज्ञ छु’। 

 

२०५९ सालको मंसिर तिर एकदिन आरजे , भिजे तालिम भनेर टेलिभिजनमा विज्ञापन प्रशारण भयो । मिडिया होम भन्ने संस्थाको विज्ञापन थियो त्यो । मिडिया होममा जीवन बिष्ट र बिनोद खनाल संचालक थिए, दिनेश डिसी लगायत प्रशिक्षक थिए । उनले त्यो प्रशिक्षणमा भाग लिए । सिक्ने सिकाउने काम भयो, तत्कालिन समयमा च्यानल नेपाल, थोरै समय प्रसारित इमेज च्यानल र केहि टेलिभिजन कार्यक्रम उत्पादन गर्ने नीजि संस्था र टेलिभिजन स्टेशन मात्र थिए । कान्तिपुर भर्खरै प्रसारणको तयारीमा थियो भने नेपाल १ टेलिभिजनले पनि प्रशारण शुरु गरेको थियो । तालिम पश्चात सीमित मिडियामा हजारौँको आकर्षण भएको उद्योगमा काम पाउने लालसामा पातलो शरीर भएका उनी जस्ता लुरेले सपना पुरा गर्न कति जोर जुत्ता च्याते थाहै पाएनन् । यो सम्झिदा उनि बेस्मरी हाँसे। 

 

रेडियोमा जसरी पनि बोल्ने भएपछि उनी एकदिन तत्कालिन एच. बि. सी ९४ एफएम पुगे र अहिलेका कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर सुजन कार्कीसंग भेट गरे । २०६० सालमा सकीनसकी कन्भिन्स गरेर पहिलोपटक रेडियोमा बोल्ने काम गरे । तर जम्न भने सकेनन् । ती दिन आजपनि ताजा रहेको उनले सुनाए । "२ दशक पनि हिजो जस्तो लाग्छ’ उनि सम्झिन्छन् । त्यसपछि नेपाल एफ एम, रेडियो काठमाडौँ हुँदै सिटिजन एफएममा बोल्न थाले । यो काम उनको अझै पनि जारी छ । ‘मेरो एउटा नराम्रो बानी छ धेरै बोल्ने । शायद रेडियोको प्रभाव होला नियन्त्रण गर्न खोज्छु, फुत्किहाल्छु’ हाँस्दै उनले भने । यही सिलसिलामा रेडियो मार्केटिंङ्ग गर्ने तिर एजेन्सी घुम्ने र विज्ञापन लगेर रेडियोमा बजाउने काममा जम्न थाले उनी । त्यसपछि बोल्ने भन्दा मार्केटिंङ्ग तिर उनको पाइला धेरै दौडियो । 

 

यहि बीचमा रेग्मी २०६४ सालमा विवाह बन्धनमा बाँधिए । अनि २०६५ मा एउटा छोरीको बाबु बने । बाबु बनेपछि जिम्मेवारी बढेको भान उनलाई भयो । त्यसपछि अल्लि व्यवसायिक एजेन्सीमा जागिर खाने मनस्थिति बनाए उनले । संयोगले एकदिन ६५ साल असारमा कमलादी स्थित त्रिकोण एडभरटाईजिंङ्गमा शम्भु अधिकारी र मिडिया हवका तत्कालिन मार्केटिंङ्ग मेनेजर हरिशरण सुवेदीसँग उनको भेट भयो। त्यस भेटसँगै मिडिया हवमा जोडिने सल्लाह भयो । दुवै जना कन्भिन्स भएपछि सुवेदीले मिडिया हबका तत्कालिन कार्यकारी निर्देशक सोम प्रसाद धितालसंग भेट गराए । तलब सेवा सुबिधा, फरक बाटो, अल्लि फरक मार्केटिंङ्ग, सबै हामी छौ, बस तपाई आउनुस् भनेपछि नगरेको टेलिभिजन मार्केटिंङ्ग म सक्छु भन्ने मनस्थितिमा पुगे उनी । जसले यो बाटोतिर मोडे आजसम्म पनि आफु उनीहरुकै सन्निकटमै रहेको उनले बताए । उनी भन्छन् “संगै छु, शायद मेरो लागि यो भन्दा ठुलोकुरा के होला र ? " सोम प्रसाद धितालको अभिभावकत्वमा हरिशरण सुवेदीको मार्केटिंङ्ग टिम मिडिया हबमा ठूलो बनाइयो । कुनैबेला १२ र १५ जनासम्मको टिममा रहेर मार्केटिंङ्ग गर्ने क्रममा बजार दौडने काम गरे उनले । ठुलो बजार हिस्सा भएको हबका तत्कालिन अध्यक्ष भाष्करराज राजकर्णिकार, सञ्चालकहरु रंजित आचार्य, सुदिप थापा, निर्मलराज पौडेल, मोहम्मद अख्तर जस मध्ये राजकर्णिकार, पौडेल र धिताल सबैले आनको अध्यक्षता गरिसकेका छन् भने थापा हालका निर्वाचित अध्यक्ष नै हुन् । "मेरो लागि यो भन्दा गर्वको बिषय अरु के होला र ? हबमा रहँदा बढो उत्साह, प्रतिस्पर्धा, मोटिभेसन सबै पाइयो, एकहिसाबले छुट्टै जोश थियो । अहिलेपनि अल्छी लाग्दा ति दिन सम्झिदा उर्जा मिल्छ’ उनी थप्छन्। 

 

समयसँगै २०७० को अन्त्यतिर आफैँले केहि गर्ने सोचका साथ उनको टिमले सोम धितालकै सल्लाहमा आफ्नै भेन्चर कम्पनीहरु बनाएर अगाडि बढे । धितालले यदि जागिर खान कतै जाँदै हुनुहुन्छ भने के पुगेन भन्नुहोस ? यदि आफ्नै भेन्चरनै हो भने त आशिर्वाद दिन्छु भनेपछि उनको नयाँ पाइला अगाडि बढ्यो। "टिममा काम गर्दाका हरिशरण सुवेदी, प्रमोद सुवेदी, शशांक पोखरेल, दिपक कोईराला, स्वयम् म आरसी रेग्मीको त्यो दिन र आजको यात्रा पनि हामी सँगसँगै छौँ। केहि वर्ष अगाडिसम्म मित्र लोकेन्द्र भण्डारी पनि सँगै हुनुहुन्थ्यो। आज १५ बर्ष बढी भयो,यो बीचमा हामीले केहि फरक रुपमा टेलिभिजन मार्केटिंङ्गलाई अगाडि बढाउने प्रयास गरियो। हिजोको हाम्रो मार्केटिंङ्ग टिम लिडर सुवेदी आज एडी ग्रुपका अध्यक्ष छन् । आज यहि ग्रुप अन्तर्गत आधा दर्जन भेन्चर संचालित छन् । जसलाई हामी फरक फरक साथीहरुले नेतृत्व गरिरहेका छौँ " उनी भन्छन्। एकले अर्को भेन्चरलाई ’पुस र पुल’ दुवै मोडालिटीमा अगाडि बढाएको उनको कथन छ। ‘जिन्दगीमा सिक्ने नविनतम अभ्यास गर्ने जोखिम लिने र समग्र टेलिभिजन उद्योगलाई अझै बलियो बनाउने हाम्रो प्रयास हो‘ उनले जिम्मेवारीबोधका गहन शब्द तेर्साउँदै भने । एक दशक देखि टेलिभिजन च्यानलको बजारको प्रमुख हिस्सेदार बन्ने सौभाग्य पाएका उनको यात्रा अहिले डिजिटलसम्म पुगेको छ। 

 

उनी सम्बद्ध समुहले नियमित सेगमेन्टका साथै जोखिम मोल्दै टेलिभिजनका महँगो फर्म्याटका फ़्रेञ्चाइज शो समेत संचालन गर्दै आएका छ । प्रति कार्यक्रम लागत कम्तिमा ५ देखि ७ करोड सम्मको हुने चर्चित रियालिटी शो नेपाल आइडल, द भोइस अफ नेपाल, सारेगमप लिटिल च्याम्प, कमेडी च्याम्पियनसम्मको बजार व्यवस्थापन र आफ्नै आधिकारीक फ़्रेञ्चाइज सुपर डान्सर नेपालको निर्माण बजार तथा प्रशारणमा उनी जोडिएका छन् । टेलिभिजन उद्योग मात्र नभई अनलाइन, प्रिन्ट, रेडियो लगायतका मिडिया भेहिकलमा प्रबर्धन गर्न आफुहरुले बजारमा आफ्नो प्रभाव राम्रो बनाएका धेरै अन्य एजेन्सीका अग्रज र मित्रहरु मार्फत सहकार्य गर्ने गरेको उनी बताउँछन् । 

त्यसो त आर सि रेग्मी नेपाल विज्ञापन संघको हालै सम्पन्न निर्वाचनमा सर्वाधिक लोकप्रिय ६१ मत सहित सदस्यमा निर्वाचित भएका छन् । आनको कार्यसमितिमा सदस्यको रुपमा सबै विज्ञापनका आयाम समेटिने हुनाले आफुले नजानेका नबुझेका सिकाउने धेरै अग्रजहरु रहेकोले आनमा आफुलाई सहज हुने उनको विश्वास छ । समग्र उद्योग र विज्ञापन व्यवसायीको हकहितको संस्था भएकाले यसको श्रीबृद्धीका लागि ३३ बर्षको लिगेसी सोचेर अगाडि बढ्नुपर्ने उनको धारणा छ । साथै कार्यसमितिको बैठक र निर्णय बाहेक आफनो निजी धारणा नहुने विचार उनी राख्छन्। "बरु मेरा निजी धारणा कम्तिमा आनको बैठकमा राख्न सक्छु । विज्ञापन बजार, विज्ञापन अर्थतन्त्रको बारेमा मेरो अध्ययन, मुद्दा र परिणाममा म अबको कार्यकालमा केन्द्रित हुनेछु । मलाई विश्वास गरेर ६१ सर्वाधिक लोकप्रिय मतसहित निर्वाचित गराउन सघाउनु हुने अग्रज अध्यक्षज्यूहरु, पूर्व कार्यसमितिका पदाधिकारी ज्यूहरु, अहिलेका कार्यसमिति सदस्यज्यूहरु लगायत ९४ वटै एजेन्सीबाट प्रतिनिधित्व गर्नु भएका सबैप्रति अनुग्रहित छु” उनले आभार व्यक्त गर्दै भने “यहाँहरुले गर्नुभएको विश्वासले मलाई प्रतिबद्द र जवाफदेही बनाएको महशुस गरेको छु । सम्पूर्ण विज्ञापन व्यवसायीको हकहित भन्दा बाहिर म जान सक्तिन ।" 

निर्वाचनका दौरान प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने सबैको साझा प्रतिनिधि बन्ने प्रयास आफुले गर्ने रेग्मी बताउँछन् । यसका अतिरिक्त आनको हिजोका मुद्दाहरुलाई निरन्तर कानुन र ऐन कार्यान्वयसम्म विज्ञापनदाता देखि मिडिया र सरकारसम्म स्वस्थकर एजेन्डा लागु गराउन कार्यसमिति मार्फत पहल गर्ने रेग्मीको प्रण छ ।

 

धेरै पढिएको