रुकुम पश्चिममा कुटपिटबाट दुईजना प्रहरी घाइते
News Desk
Jan-29 , 2024 तारिख 07:19 बेलुका

रुकुम पश्चिममा कुटपिटबाट दुईजना प्रहरी घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका -३, स्यार्पूमा भएको सामान्य विवाद मिलाउन गएका प्रहरी कुटपिटबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते हुनेमा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का रहेका छन् । घाइते शाहीको भित्री ढाडमा र खड्काको टाउकोमा चोट लागेको बताइएको छ ।

कुटपिट पछि घाइते दुवैजना प्रहरीको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । प्रहरीले बताए अनुसार आइतबार बेलुकी ७ बजे स्यार्पु गाउँका ३४ वर्षीय हिरालाल केसीलाई स्थानीय गोबिन्द बिक र लक्ष्मण बिक लगायत १३-१४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिट लगत्तै स्थानीयले ईलाका प्रहरी कार्यालय बाँफिकोटलाई टेलिफोन मार्फत जानकारी गराएका थिए ।

त्यसपछि प्रहरी नायब निरीक्षक शोभा सिंह थारुको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उक्त कुटपिटको सामान्य विवाद मिलाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको बताइएको छ । प्रहरीलाई ढुङ्गा र हातपात गर्ने व्यक्तिहरु प्रहार रहेकाले १३ जनाको प्रहरी टोली थप गरेर उनीहरूको खोजी भैरहेको छ ।
घटनास्थलमा खटिएको प्रहरीलाई कुटपिट गर्ने फरार गोविन्द बिकको समूह रहेको प्रहरीको भनाइ छ ।

धेरै पढिएको