News Desk
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली ले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने तथा बलात्कारको धम्की दिएको आरोप लगाउँदै साइबर ब्युरोमा ४० भन्दा बढी व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छन्।
सोमबार दर्ता गरिएको उजुरीका आधारमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको र उनी कानुनी प्रक्रियामा रहेको ओलीले जानकारी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफूविरुद्ध संगठित रूपमा गालीगलौज, चरित्रहत्या, घृणायुक्त अभिव्यक्ति तथा धम्कीपूर्ण सन्देशहरू फैलाइएको उल्लेख गर्दै ओलीले पछिल्ला केही सातायता यस्ता गतिविधि तीव्र रूपमा बढेको बताएकी छन्। उनका अनुसार फेसबुक, टिकटक, युट्युबलगायत प्लेटफर्म तथा व्यक्तिगत मोबाइल र म्यासेन्जरमार्फत समेत हिंसात्मक तथा आपत्तिजनक सन्देशहरू प्राप्त भएका छन्।
ओलीले लोकतान्त्रिक समाजमा विचार र अभिव्यक्तिमाथि आलोचना स्वाभाविक भए पनि धम्की, घृणा फैलाउने गतिविधि, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार अस्वीकार्य रहेको स्पष्ट पारेकी छन्। उनले यस्ता सामग्री पोस्ट, शेयर वा टिप्पणी गर्नेहरूलाई तत्काल हटाउन चेतावनी दिँदै अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएकी छन्।
यसैबीच, विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गरेको भन्दै ओलीले गृहमन्त्री सुधन गुरुङ तथा साइबर ब्युरोलाई धन्यवाद व्यक्त गरेकी छन्। यसअघि संसद्मा धम्कीबारे कुरा उठाएपछि गृहमन्त्री गुरुङले दोषीमाथि कारबाही हुने आश्वासन दिएका थिए।