“म” बदला “मै” प्रधानमन्त्री !
News Desk
Jun-23 , 2021 तारिख 07:20 बिहान

मनोज कुमार कँडेल 
पौराणीक कथामा चौपट राजाको अविवेकी निर्णयले राजा आफुनै सुलीमा चढे जस्तै आज हाम्रा प्रधानमन्त्री पनि चौपट राजाको नियती तिर अगाडि बढेको स्पष्ट संकेत देखिएको छ  ।  अन्धेरी नगरमा चौपट राजाले राज गरेकाथिए । एक दिन राजाकाहा न्यायको लागी उजुरी आयो । उजुरीमा एक गरिब विधवाको बाख्रा छिमेकी पण्डितले मारी दिएकोले न्यायको माग गरीएको थियो । दुबैलाई राजाको हुकुम अनुसार दरबारमा बोलाइयो र बाख्रा मर्नुको कारण सोधीयो । विधवाको बाख्राले छिमेकी पण्डितको बारीमा लगाएको बाली खाएछ । पण्डित रिसाएर बाख्रालाई पिटेछन र त्यही पिटाईको कारण बाख्रा मरेछ । यो बयान पछि राजाबाट “ज्यानको बदला ज्यान” हुने हुदाँ पण्डितलाई “कि बाख्रा जिउदो बनाउन लगाउनु कि मृत्युदण्ड दिनु” भन्ने हुकम भयो । पण्डितले बाख्रालाई जिउदो बनाउन सक्ने कुरै भएन त्यसकारण मृत्युदण्ड दिन लगियो । सिपाहीहरुले मृत्युदण्डको लागी घाटीमा पासो हाले तर अति दुब्लो भएको कारण उक्त पासो पण्डितको घाटीमा ठूलो भयो । राजा जस्तै सिपाहीहरु पनि अविवेकी र मुर्ख थिए । 

पण्डितको घाटी पासोमा नअड्किए पछि सिपाहीहरु फेरी राजाको दरबारमा आए र पण्डित पातलो भएको कारण सुलिमा चढाउन नसकिएको राजालाई जाहेर गरे । राजाबाट सोचविचार गर्दै – सुलीमा अड्कीने अर्को मोटो मान्छे खोजेर मृत्युदण्ड दिन हुकुम भयो । सिपाहीहरु राजाको आदेश अनुसार अर्को मोटो मान्छे खोज्न निस्के । अविवेकी मुर्ख राजाले “ज्यानको बदला ज्यान” मात्र हुन सक्ने निर्णय गरेका कारण त्याहाँ “हुकुम” महत्वपूर्ण थियो नकी कुनै पिडकको न्याय अथवा जनता माथि अन्याय । सिपाहीहरुले बाटोमा एक मोटो मान्छे घरको आँगनमा तेल लगाएर बसेको देखे । सिपाहीहरु नजिक गए र हेर्दा मृत्युदण्डको पासोमा उक्त व्यक्तिको घाँटी ठिक हुने निस्कर्षकासाथ ति बेकसुर व्यक्तिलाई राजाको सामु लगे र सुली उक्त व्यक्तीको घाँटीमा ठिक हुने जाहेर गरे ।  राजाले उक्त व्यक्तीलाई सुलीमा चढाएर मृत्युदण्ड दिन आदेश दिए । उक्त व्यक्तीले राजालाई आफु विनाकसुर सुलीमा चढ्नु पर्ने कारण सोधे । राजाले हामीसँग भएको पासो र उसको घाँटीको साइज मिलेको कारण फाँसी दिने निर्णय भएको हुकुम भयो । 

जब उनलाई फाँसीको तख्तामा चढाइयो तब उनले राजासँग विन्ती गर्दै मृत्यु अघि एक पटक आफ्नो गुरुसँग भेट्ने इच्छा जाहेर गरे । राजाबाट स्वीकृती पाए पछि उनले गुरुलाई सम्झिए र गुरु प्रकट हुनु भयो । गुरुले थाहा थियो यो देशमा अविवेकी र मुर्ख राजाको कारण उनको शिष्य फाँसि दिन लागीएकोछ । गुरुले शिष्यको कानमा केही भन्नु भयो र राजा सामु शिष्यलाई  नभएर आफुलाई मृत्युदण्ड दिन आग्रह गर्नुभयो ।  त्यसैगरि शिष्यले  पनि गुरुलाई दिन अस्विकार गरे । यसरी गुरु र चेला विच फाँसीमा जानकोलागी तछाँड मछाँड भयो । यो देखेर राजा आश्चर्यमा परे । मृत्युसँग जो पनि डराउछन तर किन यि गुरु शिष्य मर्नको लागी तछाँड मछाँड गरिरहेका छन ? राजा यसको रहस्य थाहा पाउन उत्सुक भए । राजाले गुरुलाई यसरी मर्नको लागी तछाँड मछाँड गर्नुको कारण सोध्नुभयो ।

गुरुले आजको दिन पासोमा झुण्डिएर मर्न पाएमा स्वर्गको राजा हुने मुर्हत भएको र यो लाखौ बर्षमा एक चोटीमात्र आउने भएकोले यस्तो मौकामा आफु सुलीमा चढ्न चाहेकोले हामी विच तछाँड मछाँड भएको नर्मता र बुद्धिमताकासाथ बयान गर्नु भयो ।  यो कुरा सनुेर ति चौपट राजालाई स्वर्गको राजा हुने लोभ लाग्यो । उनी अविवेकी र मुर्ख त थिए नै अति लोभी पनि थिए । अन्तत राजाले ति दुबै शिष्य र गुरुलाई तिमीहरु स्वर्गको राजा हुन लाएक नभएकोले आफुनै सुलीमा चढ्ने निर्णय गरे र हतार हतार फाँसीमा चढे ।  यसरी अविवेकी र मुर्ख राजाको निर्णयहरुले लाखौं जनताहरुमाथि अन्याय त भएको थियो नै अन्तत राजा पनि त्यही विवेकहिनता र मुर्खताले आफै सुलिमा चढे र ज्यान गुमाए । यि चौपट राजाको शासन र राजाको अन्त्य राजाकै कुबुद्धिले भयो । 

शासकहरु जब मुर्ख हुन्छन उनीहरुले आफुलाई मात्र बुद्धिमान र सर्बेसर्बा सोच्दछन र विस्तारै उनीहरुको बुद्धिमा अहंकारको भयानक बादल लाग्छ । जब अहंकारले जरा गड्छ तब आफुबाहेक केहि देखिदैन । यो प्रसंग महाभारतको पात्र घृतराष्ट र दुर्योधनलाई पनि लागू भएको थियो । जसरी चौपट राजाको अविवेकी निर्णय “ज्यानको बदला ज्यान” ले आफ्नै ज्यान गयो । आज प्रधानमन्त्री ओलीको “म” बदला “मै” प्रधानमन्त्री भन्ने अविवेकी निर्णयले उनी,  कम्युनिष्ट पाटी र गणतन्त्र नै सुलीको नजिक पुगेको देखिन्छ ।  ओलीले पाटीमा आफ्नाहरुलाई गरेको कारबाही होस, पाटीमा पाटीकै विधान भन्दा बाहिर गएर २३ जना पूर्ब माओबादीहरुको प्रबेश होस, अध्यादेशको गैर संबैधानीक खेल होस, संसद विघटनको निर्णयहोस, नागरिकताको विषयहोस सबै निर्णयहरु एउटै उद्देश्य पूरा गर्नको लागी भएको देखिन्छ, त्यो हो उनको प्रधानमन्त्री पदको सुरक्षा !

ओलीले राज्यको निर्बाचन आयोग, राष्ट्रपती कार्यालय, प्रहरी प्रशासन, अदालत लगाएत सबै अंगहरुलाई आफ्नो प्रभावमा पार्ने र उनीहरुलाई किंकर्तव्यमुड बनाउने गतिविधीले राज्य आज गतिहिन पुगेको छ ।  यहासम्मकी उनले राष्ट्रीयता र देशको सार्बभौमिकतालाई समेत प्रधानमन्त्री पदको लागी धरौंटी राख्न पुगेका शंका हुने गरेकोछ । देशका पूर्ब ५ प्रधानमन्त्रीहरुले जसरी देशको सार्बभौमिकतामाथि प्रश्न राखेकाछन यसको भोलीको परिणामको लागी कित प्रधानमन्त्री ओली कि पूर्ब ५ प्रधानमन्त्रीहरु जिम्बेदार हुन पर्ने नै छ । हुनत प्रधानमन्त्रीको निर्णयहरुलाई कुनै न कुनै रुपमा सकरात्मक सहयोग गरिरहेको अदालत आज उनको अतिबाट प्रताडित हुन पुगेको देखिन्छ । विस्तारै ओलीको निर्णयहरुलाई रोक लगाउन खोजेको तल्काल भएको केही निर्णयहरुबाट महसुस गर्न सकिन्छ । 

प्रधानमन्त्री पदको लागी ओलीले पहिलो संसद विघटनबाट सुरु गरेको गलत मनसाययुक्त गैर कानूनी निर्णय आज एक पछि अर्को गैर कानूनी निर्णय गर्न बाध्य हुनु भएकोछ । यसरी एक निर्णयलाई ढाकछोप गर्नको लागी गरिने अर्को निर्णयहरुले उनलाई क्रमशः चौपट राजाको नियति तर्फ अगाडि बढाईरहेकोछ भने देश अन्धेरी नगरी तर्फ । प्रधानमन्त्री पदको जोगाडको लागी प्रधानमन्त्री ओलीको निर्णयहरुले कहिलेसम्म आम नेपालीले छुटकार पाउने हुन प्रतिक्षाको विषय रहेको छ । पक्कै पनि उनले आफुलाई सचेत गराएनन भने उनलाई पछाडिबाट उक्साउने देशी तथा विदेशी तत्वहरुले जसरी चौपट राजालाई गुरुले सुलिमा चडाएका थिए त्यसरी नै छिट्टै ओलीको राजनितीलाई सुलिमा चडाउनेछन, त्यो दिन आउने धेरै दिन कुर्नु पर्नेछैन ।  अन्तमा प्रधानमन्त्री ओलीको “म” बदला “मै” प्रधानमन्त्रीको नामबाट शुरु भएको “सुली” तर्फको यात्रा छिट्टै रोकियोस ।