News Desk
काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले आयोडिनयुक्त नूनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पार्ने प्रभाव विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १ मा उक्त अन्तर्कृया कार्यक्रम गरेको हो ।
राजधानी काठमाण्डौंमा विहिवार आयोजित सो गोष्ठीमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख लिला बिक्रम थापाले प्रमुख वक्ताका रुपमा बोल्नुहुँदै आयोडिन दैनिक सेवन गर्नुपर्ने अति सुक्ष्म पोषक तत्व भएकाले यसको उपभोग गर्न छोडन नहुने जानकारी दिनुभयो ।
५ दशक अघि नेपाल सरकारले क्याप्सुल र इन्जेक्सनबाट नागरिकलाई आयोडिन दिने गरेकोमा गलगाँड, वामपुडके, लुलो लङ्डो हुने आदी समस्या अपेक्षित रुपमा हल गर्न नसकिएकाले सन १९९८ देखी नुनमा आयोडिन मिसाएर वितरण गर्ने थालिएको र त्यसपस्चात ढिके नुनलाई विस्थापित गरि प्याकेट नुनमा मिसाएर नेपाल भर कर्पोरेशनमार्फत पुर्याउने योजना लिई काम गरेकामा गहन उपलब्धी प्राप्ती भएको जिकिर समेत उहाँले गर्नुभयो । पिसाब जाँचबाट आयोडिनको उपभोग बारे जानकारी प्राप्त गर्न सकिने जानकारी दिदै थापाले भन्नुभयो ’२०१६ मा स्कुल पढ्ने बालबालिका र १५ देखि ४९ वर्षका महिलामा आयोडिन परिक्षण गरेर हेर्दा बालबालिकामा ३०० म्यकसीमम प्वाइन्ट भन्दा १४ प्वाइन्ट बढी आएको देखिन्छ । पहिला ९० प्रतिशत मानिसले ढिके नुन प्रयोग गर्थे अहिले त्यो अवस्था छैन’ ।
उनले हामीले जति धेरै परिकार खान्छौँ त्यति नै नुन खाने हुँदा खानपिनमा ध्यान दिदा आयोडिनबाट कुनै खालको असर नगर्ने जनाउदै भने ‘हामीले जति धेरै परिकार खान्छौ त्यति नै धेरै नुन खान्छौँ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा नुनको कमीले विभिन्न स्वास्थ्यमा समस्या आएको छ । नुन बढी हुँदा समस्या आएको छैन । तर नुन धेरै हुँदा के हुन्छ भन्ने पनि सोच्न पर्ने अवस्था आएको छ । १ चम्चा आयोडिन भए हुन्छ । नुन र आयोडिनमा धेरै फरक रहेको छ ‘ । नुन बढी खायो भने थाइराइड हुन सक्छ भन्ने बिषय पुष्टी नभएको बिषय रहेको जिकिर समेत गरे ।
सो अवसरमा थापाले अनुसन्धानकर्ताहरुले अनुसन्धान पस्चात नतिजा हतारमा सार्वजनिक गर्नाले आम मानिसमा भ्रम पर्न जाने हुँदा यस्ता संवेदनशिल बिषयलाई सबै सामु ल्याउनुपुर्व सरकारका सम्बन्धित निकायसँग पनि धारणा लिन जरुरी देखिएको जनाउनुभयो । उहाँले समाचार बनेर आउने सन्दर्भले कतै गलत सन्देश पो जान्छ कि भन्नेतर्फ संचार जगत पनि चनाखो हुन जरुरी रहेको उल्लेख समेत गर्नुभयो । उहाँले २०२५ मा २०१६ मा जस्तै सुक्ष्म पोषक तत्वको राष्ट्रिय स्तरमा सर्वे गरिने जानकारी दिनुहुँदै खाद्य उपभोग बारे सर्वे गर्न सके अझ उपर्युक्त हुने पनि औल्याउनुभयो । साल्ट ट्रेडिङले कारोबार गर्ने नुनमा सरकारले तोकेअनुरुप सहि मात्रामा आयोडिन मिसाईएको बताउनुहुँदै उहाँले आयोडिनयुक्त नुनको सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि काम गर्दै आएको र आयोडिन मन्थ पनि सरकारकै कार्यक्रम रहेकोले यस अवधिमा जनचेतना जगाउन राष्ट्रव्यापी रुपमा जनचेतनामुलक कार्यक्रमहरु गर्ने गरिएको जनाउनुभयो । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन आयोडिन मन्थ कार्यक्रम राष्ट्रव्यापी रुपमा गरिदै आएको चर्चा गर्नुभएका थापाले बजारमा आयोडिनयुक्त नुनका संबन्धमा अनर्गल कुप्रचार भैरहेको प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र नूनमा सहि मात्रामा आयोडिन मिसाईएकोले कति मात्रा खाने भन्नेमा ख्याल राख्दै निर्धक्कले सेवन गर्न आम नागरिकलाई अपिल समेत गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको बारेमा भ्रम छरेर ६० रुपैया पर्ने सिरे नुनलाई ३०० रुपैया किलो सम्ममा बेच्दै नाम कमाउन पल्केका कालाबजारियाले उपभोक्ता ठग्ने काम गरेको दाबी गर्नुभयो । आयोडिनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी भूमिका खेल्दै आएको आफुले पाएको उल्लेख गर्नुहुँदै उहाँले केही कालाबजारियाका कारण उपभोक्ताहरुमा भ्रम पर्न गएको पनि उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने विकृतिलाई रोक्न कर्पोरेशनले सरकारको नीति निर्देशन अनुसार सरकारकै आयोडाईजेसन कार्यक्रम अन्तर्गत काम गर्दै आएको जनाउनुहुँदै भोलीका दिनमा पनि सरकारको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोडिन ग्लोबल नेटवर्कका देशिय सल्लाहाकार मचाराजा महर्जनले सरकार मातहत वितरित नुनबाट नभई बजारमा बिक्री हुने तयारी खानाका कारण स्वास्थ्य समस्या निम्तिएको उल्लेख गर्नुभयो । युनिसेफका न्युट्रिसन अफिसर नविन पौडेलले पोषक तत्व बारे जानकारी लिन सबैमा आग्रह गर्नुहुँदै चिकित्सकको सल्लाह लिन सुझाव समेत दिनुभयो ।
गोष्ठिमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौं महानगरपालिका आदी कार्यालयका प्रतिनिधि समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।