विश्व स्कुल दुग्ध दिवस सन् २००० सेप्टेम्बर महिनाको अन्तिम बुधबारबाट मनाउन सुरु गरिएको हो :घिमिरे
News Desk
Sep-24 , 2024 तारिख 10:43 बेलुका

(नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेसँग दशौँ विश्व स्कुल दिवसको अवसरमा गरिएको अन्तर्वाता ) 

नेपालमा विश्व स्कुल दूध दिवस कहिलेबाट मनाउन शुरु गरिएको हो ?

विश्व स्कुल दुग्ध दिवस सन् २००० सेप्टेम्बर महिनाको अन्तिम बुधबारबाट मनाउन सुरु गरिएको हो। विश्वका कुनै पनि विद्यालय बन्द नरहने अवस्थालाई मध्यनजर गरेर यो समयमा यस दिवस मनाउन थालिएको हो ।  विश्वभर कुनै पनि बालबालिका दूग्ध सेवनबाट वञ्चित नहुन् भनेर मनाउन सुरु गरिएको यो दिवस नेपालमा नेपाल डेरी एसोसिएसनले सन् २०१४ बाट मनाउन शुरु गरेको हो।  यस वर्ष असोज ३ गतेदेखि दैनिक कार्यक्रम गरि साताव्यापी कार्यक्रम गरि मनाइएकोमा १० औं पटक  कार्यक्रम गरिएको छ । यो कार्यक्रमले दूध उपभोग बढ्नुको साथै  बालबालिकालाई पूर्ण पौष्टिक आहार उपलब्ध हुने गर्दछ ।

बालबालिकालाई नियमित रुपमा दूध सेवन किन गराउने ?

दूध पूर्ण पौष्टिक आहार हो । दूध सेवन गरेपछि अरु खाद्य पदार्थ नखाँदा पनि हुने गर्छ । बालबच्चाहरू जन्मँदा ६ महिनासम्म दूध मात्र सेवन गराइन्छ । त्यसपछि पनि अन्नसँगै दूध सेवन अनिवार्य गरिने गरिन्छ। दूध सेवनले हरेक कुरालाई फाइदा पुग्ने गर्छ । त्यसकारण बालबालिकालाई दूध सेवन आवश्यक छ ।

विश्व स्कुल दूध दिवस कसरी मनाउने योजना  छ ?

यस वर्ष विश्व स्कुल दूध दिवस सेप्टेम्बर महिनाको २५ तारिख असोज ९ गते बुधबार परेको छ। नेपाल डेरी एसोसिएसनले साताव्यापी कार्यक्रम आयोजना गरी मनाउन थालेको छ। पहिलो दिन प्रेस मिट, दोस्रो दिन आश्रममा दूध तथा दुग्ध पदार्थ वितरण, तेस्रो दिन स्कुल स्कुलमा जनचेतनामूलक कार्यक्रम गरी दुधपान, चौथो दिन सरकारवालाहरूबीच अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना, पाँचौँ दिन अस्पतालहरूमा दूध तथा दुग्ध पदार्थ वितरण, छैठौं दिन बाल आश्रमहरूमा जनचेतना मुलक कार्यक्रम एवं दुधपान कार्यक्रम, सातौं दिन कविता प्रतियोगिता, वक्तित्व कला प्रतियोगिता एवं सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सहित समापन समारोह गरी मनाइने । 

नेपालमा दूध कति उत्पादन र खपत हुन्छ ?

नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ।  ३१ लाख लिटर दूध दैनिक खपत हुन्छ । आधा ३१ लाख लिटर दूध अहिलेसम्म पनि बजारमा आउन सकेको छैन। अब त्यो बजारमा आउन नसकेको ३१ लाख लिटर दूध बजारमा ल्याउन सक्दा अहिले बजारमा नपुगेको दुध पूर्ण हुन्छ ।अहिले हामी दुधमा ८०% आत्मनिर्भर छौँ । अब बिस्तारै हामी पूुर्ण रुपमा आत्मनिर्भर हुन सक्छौं । तर अहिले भने असहज अवस्था भएकोले दुध बढि भएको लाग्छ । अहिले विविध कारणले गर्दा  हामी डेरी व्यवसायी कठिन अवस्थामा छौं । लाग्छ अब केहि समयमा हामी सहज अवस्थामा आउने नै छौँ ।

अहिले नेपालमा दुधबाट के के बन्छ ?

नेपालमा धेरै मात्रामा दूध खपत हुन्छ। त्यसपछि दुग्ध पदार्थमा दही बढी खपत हुन्छ। त्यसपछि अरु थोरै थोरै खपत हुन्छ। अहिले पछिल्लो समय मही, पनिर, आइसक्रिम, बटर पनि खपत हुन थालेको छ । अरु मिठाई, पुष्टकारी, खुवा, दुधबरी लगायत अरु विस्तार बिस्तार खपत हुन थालेको छ ।

अहिले मही अभियान चलेको छ, यसमा के भन्नुहुन्छ तपाईँ ?

यो मही अभियान नेपाल डेरी एसोसिएसनले शुरु गरेको हो। हामीले दरबार मर्गको ओरेण्ट क्याफेमा प्रत्येक शनिबार चल्ने रैथाने हाट बजारमा बिहान ७ बजेबाट १० बजेसम्म ठेकीमा प्रत्यक्ष मही तुल्याई निःशुल्क मही सेवन कार्यक्रम गर्न थालेपछि अहिले यो अभियानले व्यापकता लिएको हो। अहिले देशभरका १२/१३ वटा उद्योगले मही ब्रान्डिङ गरेर बेच्न थालेका छन्। त्यो अत्यन्तै खुसीको कुरा हो। अब बिस्तारै विवाह, भोज, भतेर, शुभ कार्यमा महीले स्थान पाउन थालेको छ। हामी सबै लागौं मही अभियान सफल पारौँ । यसले हाम्रो उत्पादनको उपभोग बढाउँछ र स्वदेशी मुद्रा स्वदेशमै बस्न सहयोग पुग्दछ ।

अन्त्यमा केही भन्नु छ ?

यो महीअभियानको शुरुवात हाम्रो नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालज्यूले गर्नुभएको हो । उहाँलाई धन्यवाद दिन चाहन्छु। यो दशौँ विश्व स्कुल दुध दिवस हामी सबै सरकारवालाहरू मिली भव्यताका साथ मनाऔं । यसले हामी सबैलाई हित गर्दछ । राज्यले पनि यस्ता कार्यक्रमहरूलाई सहयोग पुर्‍याउनुपर्छ । अहिले नेपाल डेरी एसोसिएसनले आफ्नै खर्च जुटाएर यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको छ। अत्यन्त विश्व स्कुल दुध दिवसको सबैमा हार्दिक शुभकामना ।

धेरै पढिएको