News Desk
-प्रल्हाद दाहाल
हामी सबैजना प्राय जसो सधैं ब्यस्त नै रहने गर्दछौं । सधैं काम, घर, अनावश्यक कामको प्रेसर आदि इत्यादि कारणले आफ्नो घर परिवार, बालबच्चाहरुलाई खासै समय दिन भ्याइएको हुँइदैन। बालबालिकासँग बस्ने समय दिने भनेकै दशैं र यस्तै चाडबाडमा मात्रै त हो । त्यसैले यो फुर्सदको समयलाई सहि सदुपयोग गरौं । यो चाडपर्वको समय बालबालिकासँग बिताउने सुनौलो अवसरको रुपमा लिऔं । यो समयमा उनीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्न र सिकाइको वातावरण सिर्जना गर्न हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छौं। यो बिदामा बालबालिकाको समग्र विकासमा सहयोग पुर्याउन मद्दत गर्न सकियो भने यसले बालबालिकालाई धेरै सहयोग पुग्न सक्छ ।
दशैंमा हामी हाम्रा परम्परा, संस्कृती, रितिरिवाजसँग दैनिक नजिक हुने समय भएकोले यस्ता क्रियाकलापमा बालबालिका सहभागिता हुँदा धेरै कुराहरु एकै पटक सिक्ने र जान्ने अवसर मिल्छ । यो समय बच्चाहरूलाई घरका साना- साना काम काजमा सहभागी गराएर जिम्मेवारी, अनुशासन, र समय व्यवस्थापन गर्न सिकाउन सकिन्छ । यसो गर्दा व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन ठूलो सहयोग पुग्ने गर्दछ ।
यो समय गाउँघरमा धेरै मानिसहरुको आवतजावत हुने गर्दछ। यो समय समाजमा अनेकौं क्रियाकलाफरु हुने गर्दछन । यो समय सामाजिक र सांस्कृतिक ज्ञान दिन अत्यन्तै उपयोगी हुन्छ। दशैं जस्ता चाडपर्वहरू हाम्रो संस्कृति र परम्परासँग नजिक हुने अवसर हो। उनीहरूलाई चाडबाडका महत्त्व, परम्परा, र मूल्यहरूको बारेमा बताउँन यो समय अत्यन्तै उपयोगी हुने गर्दछ ।
यो समयमा अनावश्यक काम, भिडभाड र अन्य कुनै पनि किसिमका तनाव नहुने हुँदा रमाइलो र शान्त वातावरणमा खेल, पुस्तक, र स्थानीय खेलहरूको बारे बच्चाहरूलाई रमाइलो र उत्साहजनक तरिकाले सिकाउन सक्दा धेरै नै फाइदा हुनेछ । यसले उनीहरूको सोचाइको क्षमतालाई पनि बढाउँछ र पुराना कुराहरुको जानकारी पनि हुने गर्दछ ।
दशैंको समय आफन्तहरुको जाने र भेटघाट गर्ने चलन पनि छ। त्यो क्रममा यताउता जाँदा आउँदा प्रकृति र यात्राको क्रममा पनि बालबालिकालाई नयाँ र उपलब्धि मुलक कुराहरु सिकाउन सकिन्छ । कतै घुम्न जाँदा उनीहरूलाई यात्रा, प्रकृति, र सांस्कृतिक विविधताको बारेमा बताउँदै व्यवहारिक अनुभवको पनि जानकारी दिन सकिन्छ । यस्ता कुराले उनीहरूलाई वास्तविक जीवनसँग नजिक बनाउँछ। कसैले भन्नु र आफैं व्यवहारमा परि अनुभव लिँदा बालबालिकाले धेरै कुरा सजिलै कहिल्यै नविर्सने तरिकाले सिकेका हुन्छन ।
बालबालिकाको दिमाग एकदमै छिटो टिप्ने खालको हुन्छ। त्यसैले उनीहरुलाई सकारात्मक कुरा गर्दै प्रोत्साहन र सराहना दिनुपर्छ। बच्चाहरूको सानो सफलतालाई पनि सराहना गर्नुपर्छ। यसले उनीहरूमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न मद्दत गर्दछ। उनीहरुको अगाडि सकेसम्म कहिल्यै पनि नकारात्मक कुराहरु गर्नु हुँदैन । यसले बालबालिकाको दिमागमा नकारात्मक कुराको विकास हुन सक्छ । यसले पछि ठूलो असर पुर्याउन सक्छ ।
हिजो हाम्रो समयमा नयाँ खासै सिक्ने कुराहरू हुँदैनथ्यो । तर आजभोलि दैनिक जसो नयाँ नयाँ प्रविधिका सिक्ने कुराहरु आइरहेका हुन्छन । त्यसैले नयाँ प्रविधिको सही प्रयोग गर्न सिक्नु पनि आजको आवश्यकता हो । आजको डिजिटल युगमा प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्न सक्दा धेरै कुराको फाइदा हुन्छ। आजको युगमा केहि कुरा सिक्न पर्दा कसैलाई सोध्नु पर्दैन । प्रविधिसँग नजिक हुन सक्नेले धेरै कुरा आफैं सिक्न सक्दछन । धेरै काम लाग्ने र सिक्न पर्ने कुराहरु अनलाइन शैक्षिक सामाग्री वा सिकाइ सम्बन्धी भिडियोहरू पाइन्छन । हामीले फुर्सदको समय अन्यत्र समय बिताउन दिनुभन्दा सकारात्मक र उपयोगी भिडियोहरु हेर्न प्रोत्साहित गर्नु पर्छ ।
हिजोआज समय व्यवस्थापनमा ध्यान दिन सकिएन भने धेरै पछाडी परिन्छ । यो एकदमै महत्वपूर्ण विषय हो । हामीले हरेक कुरा गर्दा समय तालिका बनाएर गर्ने गर्नुपर्छ। अनावश्यक समय खर्च गर्ने कुरामा बालबालिकालाई निरुत्साहित गर्नुपर्छ। एकपटक गएको समय पुनः कहिल्यै फर्केर आउँदैन । यो कुरा बालबालिकालाई राम्रोसँग बुझाउन सक्नुपर्छ । चाडपर्व भए पनि तालिका बनाएर केही समय अध्ययन, लेखपढ, र सिर्जनशील कार्यहरूमा खर्चिन प्रोत्साहन गर्नुपर्छ । यस्तो बानीको विकास हुनसक्दा बालबालिकाको भविष्यमा समेत सकारात्मक कुराहरुको विकास हुँदै जाने कुरामा विस्वास गर्न सकिन्छ ।
हामीले यो दशैंमा हाम्रा बालबालिकालाई सहि मार्गदर्शन गर्न सकियो भने हाम्रा बालबालिका भविष्यमा जिम्मेवार र संस्कारी व्यक्तित्व बन्न सहयोग पुग्नेछ । यो सामन्य विषय लागे पनि अत्यन्तै महत्वपूर्ण विषय हो । हामी सबै अभिभावकले यो समय सहि सदुपयोग गराउन सक्दा बालबालिकामा धेरै ठूलो परिवर्तन आउने छ । आशा छ यो दशैंमा आम अभिभावकले आफ्ना बालबालिकालाई यो अवसर प्रदान गरि दशैं मनाउनु हुनेछ ।