भलिबल खेलका आधारभुत शैली र विशेषता
News Desk
Jul-08 , 2021 तारिख 11:54 बिहान

 

डिएन घिसिङ 

  
     भलिबल खेलले व्यक्तिगत सीप र समुहगत कार्यको व्यवस्थापन गर्दछ।यस खेलमा सहभागी खेलाडीले अनुशासनका साथ रचनात्मकता र रमाईलो वातावरणका लागि सक्रिय प्रयास जारी राखेको हुन्छ । जुन प्राय सबै जसो खेलमा गरिने अभ्यास नै हो । र यस खेलमा पनि समर्थक र दर्शकलाई उच्च महत्वका साथ हेरिने गरिन्छ । 

भलिबल खेलमा खेलाडीले हातको पन्जाको माध्यमबाट भकुण्डो अर्थात बललाई हावामा उडान र जमिनमा अवतरण गर्ने गर्दछ । खेलका दौरान बललाई उडान भर्ने र हावामा रहेको बललाई जमिनमा अवतरण गराउँदा प्रदर्शित हुने कौशलतालाई खेल विशेषताको रूपमा हेरिएको हुन्छ।हावा रहित बललाई एकै समुहका एकअर्का बिचको समुहगत तालमेलले विपक्षी मैदानमा धावा बोल्ने र नतिजालाई आफ्नो पक्षमा पार्ने स्वार्थ हरेक समुहका खेलाडीले अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । अर्को सन्दर्भमा खेल प्रस्तुतिमा खेलाडीको दक्षता र पारंगत अवस्था सबैभन्दा महत्वपूर्ण रहन्छ ।  प्रत्येक सहभागी खेलाडीलाई अनुक्रमणिकाको ढंगले उत्तम ज्ञान  आवश्यक रहन्छ।खेलमा उत्तारचढाव ,विपक्षीहरुको रणनीति,समुहगत तयारी भलिबल खेलको अर्को बिशेषता हो।
                        

प्रत्येक समुहमा बढिमा तीन पटक बल एकआपसमा खेलाउन  पाउने प्रचलन रहेको छ। घुमाउने र प्रतिस्थापन गर्न प्रत्येक खेलाडीको जिम्मेवारी र भुमिका फरकफरक तर महत्वपूर्ण  रहन्छ।

खेलमैदान 
विपरीत प्रहारकर्ता(Opposite Hitte),मध्य अवरोधक (Middle Blocker),बचाव ज्ञाता (Libero),रक्षात्मक विशेषज्ञ(Defensive)आदिको मुख्य भुमिका रहन्छ।
      

भलिबल खेल सामुहिक भावनाको प्रतिबिम्ब पनि हो।क्षमता र अब्बलताका कारण मैदानमा खेलाडीलाई विभिन्न भुमिकामा जिम्मेवार गराएको हुन्छ।स्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित गर्न प्रतिस्पर्धी समुहहरुलाई नियमनको परिधिमा समेटिएको  हुन्छ।बललाई सहि प्रहार,खेल क्षेत्रफल निश्चितता,पक्ष र विपक्ष बिचको जाल(नेट)जस्ता प्राविधिक समायोजन भलिबल खेलका मौलिक पहिचान भएकाले यिनै पक्ष खेलमा हावी रहन्छ  । 
      खेल प्रस्तुतीबाट एकातिर दर्शक वा शुभचिन्तकले खेलका दौरान  मनोरञ्जन लिन सक्छ भने खेलको नियमन र परिणामलाई घोषणा गर्न निर्णायकको व्यवस्थाले तुल्याएको  हुन्छ।सफलताको लागि आधारभूत भलिबल कौशलतालाई प्राथमिकताका साथ हेरिएको हुन्छ।
      
खेल प्रदर्शनका बखत खेल मैदानमा प्रतिद्वन्द्वी उपर बल प्रहार गर्दा पुन:फिर्ती नहुनेतर्फ  खेलाडीहरुले जोडबल दिएका हुन्छन। 

सामान्यतया आधारभूत भलिबल खेलमा निम्न तरिकामा  कौशलतापुर्वक प्रयासमा ध्यान दिने गरिन्छ ।  

क)सर्बिसिङ 
भलिबल खेलमा शुभारम्भ  हुने पहिलो सम्पर्कलाई "सेवा"अर्थात सर्बिस भनिन्छ।खेलाडीहरु मध्ये जसले सेवा गर्दछ "सर्वर"को रूपमा परिचित रहन्छ।सामान्यतया सर्भरले मैदानको पछिल्लो भागबाट बल प्रहार गर्दछ र त्यो बल विपक्षको मैदानमा ओराल्नु पर्दछ ।भलिबलमा सर्बिसिङ खेल सुभारम्भ प्रक्रिया मात्र नभई अंकभार नतिजालाई दिशाबोध गर्ने अवयवका रूपमा समेत रहन्छ  ।

ख)पासिङ।
       बललाई एक अर्काबिचको प्रारम्भिक चरण वा विपक्षीको खेल मैदानमा अवतरण गर्ने हेतु गरिने बितरण प्रणालीको सूत्रबद्ध रणनीतिक अभ्यासलाई "पास" मानिन्छ।बल पास गर्ने खेलाडीलाई "पासकर्ता" भनिन्छ।सामान्यतया एक खेलाडीले हातलाई प्रकोष्ठ गरि वा  दुई खुला हातले टाउको माथीबाट (ओभरहेड) पास गर्न सक्दछ । पास गर्ने सवालमा भने परिस्थितीले निर्धारण गर्दछ । पासिंगलाई अक्सर भलिबलको सबैभन्दा महत्त्वपूर्ण सीपको रूपमा लिइन्छ।विपक्षी विरुद्धको रणनीति र रक्षात्मक अवस्थामा समेत पासिङ्ग विधिले अर्थ बोध गराउँदछ।

ग)सेटिंग
      भलिबल खेलमा सेटिंग गर्ने प्रक्रिया दोस्रो चरणमा रहन्छ। विपक्षी खेलमैदानमा अवतरण गराउन सेटिंग कलाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ।खेलाडीको तालमेल र लचिलोपन सेटिंगका बिशेषता हुन।मध्य भागमा रहेको जाल(नेट)आसपास रणनीति तय हुने गर्दछ।सेटिंग विधिलाई अंकभारको प्रभावशाली औजार- टुल्स वा कडि पनि मान्न सकिन्छ।पारङ्गगत खेलाडीहरुको वास्तविक पहिचानका रूपमा सेटिंग कलालाई हेर्न सकिन्छ।

घ)स्पाइकिङ्ग  
    
भलिबल खेलमा स्पाइकिङ्ग भनेको विपरित स्थानलाई लक्षित गरेर प्रभावकारी र आक्रामक ढंगले जालको माथिबाट थप्पड लगाएर बल ओराल्नु हो।प्रहार गर्ने खेलाडीले अभ्यासी र विपक्षीको रणनीतिलाई समेत बुझेर बलमा नियन्त्रण लिदै थप्पड हान्ने गर्दछ।थप्पड हानिएको बल तीब्र गतिमा हुइकिने भएकाले विपक्षतर्फका  खेलाडीले जालीको मध्य भागमा आएर खेल प्रतिरक्षाको प्रयास गर्दै प्रतिरोध स्वरुप  उक्त बललाई विपरित दिशा अर्थात विपक्षतर्फको कोर्टमा ओराल्ने  अभिष्ट राखेको हुन्छ । स्पाइकिङ्ग बिधिलाई बलको गति,अवस्था र परिस्थिति अनुसार प्रयोग गरिन्छ।

ङ)ब्लकिङ्ग 
भलिबल खेलमा विपक्ष प्रहारलाई अबरुद्ध गर्ने कला नै 
ब्लकिङ्ग हो।ब्लकिंग भलिबलको एक कौशल हो, जुन विपक्षीलाई सफल हमलाबाट रोक्नको लागि प्रयोगमा ल्याइएको हुन्छ। भलिबल खेलमा ब्लकिङ्ग अवरोध कौशलको रुपमा रहन्छ । यसको उपयोगिता आक्रमणकर्ताबाट आउने बललाई हटाउने  प्रयोजनका लागि  हुने गर्दछ । अवरोधकले बललाई विपक्षीको मैदानमा  फिर्ता गर्न ब्लकको सहायता लिएको हुन्छ।व्यवसायिक भलिबल टोलीले ब्लक गर्ने विभिन्न रणनीतिहरू तय गरेका हुन्छन।

च) डिकिङ
भलिबल डिग वा भलिबल डिफेन्स भनेको प्रतिद्वन्दीबाट आएका बल जमिनमा नझर्दै दुबै हातको मुठ्ठीबाट सामना गर्नु हो।तीब्र गतिमा आएका बललाई संतुलनमा ल्याउन डिकिङ विधि प्रभावकारी रहन्छ।खेलमा शरीरलाई लचिलो बनाउदै कम्मर भन्दा तलका स्थानमा डिकिङ कलाको प्रयोग गरि खेल गतिविधिको सामना गरिएको हुन्छ।बलको उच्च वेग नियन्त्रण गर्ने शिपको रुपमा डिकिङलाई हेरिएको हुन्छ। तसर्थ, डिकिङ विधि प्रतिरक्षाको बलियो आधार स्तम्भ नै हो।