News Desk
बेलायत | “शरीरको कुनै अङ्गमा कमी हुँदैमा जीवन निरर्थक हुँदैन,” कृत्रिम खुट्टाको सहायतामा करिब माइनस २५ डिग्री सेल्सियसको कठ्याङ्ग्रिदो चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरी स्वदेश फर्किनुभएका हरि बुढामगरले भावुक हुँदै भन्नुभयो। उहाँका अनुसार आफू फरक क्षमता भएका व्यक्तिहरूलाई आफ्नै सामर्थ्य चिन्न र हरेक दिन सपनाको सगरमाथा चढ्ने प्रेरणा दिन चाहनुहुन्छ।
समुद्री सतहदेखि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्व गोर्खा सैनिकसमेत रहनुभएका ४६ वर्षीय बुढामगरले विश्वका सातै महादेशका उच्चतम चुचुरो आरोहण गर्ने ऐतिहासिक उपलब्धि पूरा गर्नुभएको छ। रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि आज विश्वभर साहस, दृढता र प्रेरणाको प्रतीकका रूपमा चिनिनु भएको छ।
रासससँग अनुभव साट्दै उहाँले यो यात्रालाई अत्यन्त चुनौतीपूर्ण बताउनुभयो। “तीव्र हावा, असह्य चिसो र जमिरहेका औँलाबीच हरेक पाइला कठिन थियो। अनुहारमा चिसोले पोलिरहेजस्तो महसुस हुन्थ्यो। घरीघरी आफैंमाथि शंका लाग्थ्यो। भगवानमा विश्वास नगर्ने म पनि मनमनै सफलताको कामना गरिरहेको थिएँ,” उहाँले भन्नुभयो।
कठोर मौसम र जोखिमका बाबजुद आफूलाई रोक्न नसक्ने आत्मविश्वास नै सफलताको मूल कारण बनेको बुढामगरको भनाइ छ। युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको अनुभूति स्मरण गर्दै उहाँले हरेक लक्ष्यमा चुनौती हुन्छ, तर त्यसलाई पार गर्न आत्मविश्वास र निरन्तर प्रयास अपरिहार्य हुने बताउनुभयो। “यो अवर्णनीय अनुभूति हो। अपाङ्गता भएको व्यक्तिका रूपमा मैले असम्भव ठानिएको काम सम्पन्न गरेको छु। नेपालीले गरेको यस प्रयासले देशको शीर उँचो बनाउने विश्वास छ,” उहाँले सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
यसअघि उहाँले १९ मे २०२३ मा सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा अलास्काको डेनाली (६,१९०) र २२ फेब्रुअरी २०२५ मा अर्जेन्टिनाको एकोनकागुआ (६,९६१) आरोहण गर्नुभएको थियो। साथै न्यु गिनीको पुन्चाकजयु (४,८८४) र १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९) पनि सफलतापूर्वक चढिसक्नु भएको छ। यससँगै दुवै खुट्टाको घुँडामुनि भाग गुमाएर पनि सातै महादेशका उच्च शिखर चढ्ने नयाँ कीर्तिमान उहाँकै नाममा दर्ज भएको छ।
सेभेन समिट सूचीमा पर्ने रूसको माउन्ट एल्ब्रस हाल पहुँचयोग्य नभएकाले वैकल्पिक रूपमा मोन्ट ब्ल्याङ्क आरोहण गरिएको र यस उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्ड्सले मान्यता दिएको बताइएको छ।
माउन्ट भिन्सनमा नेपाली झण्डा फहराउँदाको क्षण सम्झँदै उहाँले भन्नुभयो, “जहाँसम्म आँखाले देख्थ्यो, चारैतिर हिउँ मात्रै—स्वर्गजस्तै लाग्थ्यो।” शारीरिक अवस्थाका कारण असम्भव भनिने चुनौतीहरू आफूले पार गरेर देखाएको उल्लेख गर्दै उहाँले आफ्नो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिहरूका लागि सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो।
अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितको नेपाली आरोहण टोलीसँग २४ घण्टा उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ प्रस्थान गरेको टोलीले ६ जनवरी २०२६ राति १० बजे शिखरमा पाइला टेकेको हो।
पूर्व गोर्खा सैनिक बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको भिडन्तका क्रममा भूमिगत बम विस्फोटबाट दुवै खुट्टा गुमाउनु भएको थियो। त्यसपछिका वर्षहरूमा उहाँले ब्रुनाइ, कोसोभो, फकल्याण्डलगायत स्थानमा गोर्खा सैनिकका रूपमा सेवा गर्नुभयो। हाल तीन सन्तानका पिता हरि परिवारसहित बेलायतको क्यान्टबरी, केन्टमा बसोबास गर्दै आउनु भएको छ।
गत वर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड तथा ‘प्राइड अफ ब्रिटेन’ सम्मान पाउनुभएका उहाँले अतीतमा निराशा र मदिरा सेवनका कारण आत्महत्याको प्रयाससमेत गरेको स्वीकार गर्दै स्काइ–डाइभिङले जीवनमा नयाँ मोड ल्याएको बताउनुभयो।
उहाँले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको जनाउँदै माघ १ गते काठमाडौँ आइपुग्ने र त्यसपछि बेलायत फर्केर त्यहाँका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको जानकारी दिनुभयो।