ओली विरुद्ध​ पोखरेल अध्य​क्ष​मा भिड​ने
News Desk
Nov-04 , 2025 तारिख 06:46 बिहान

नेकपा (एमाले)को ११औं महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुँदैछ। यसपटक अध्यक्ष पदमा केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा दिने भएका छन्। ओलीले निर्विकल्प अध्यक्ष बन्न खोजे पनि पार्टीभित्र मतभेद बढ्दै गएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बनपछि असन्तुष्ट नेताहरू पोखरेलको पक्षमा उभिएका छन्। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका सचिवालय सदस्यहरू पोखरेलको साथमा छन्।

ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गरे पनि पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग बलियो बन्दै गएको छ। पोखरेलले भण्डारीसँग परामर्श गरी उम्मेदवारी दिन तयारी पूरा गरिसकेका छन्। यसपटक एमाले महाधिवेशनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।