महासचिव भुसाल नेतृत्वको समूहभित्र पनि फाटो
News Desk
Nov-05 , 2025 तारिख 06:26 बिहान

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल नेतृत्वको समूहभित्र पनि फाटो आएको छ। उक्त समूहका नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठले एमालेमा पुनः प्रवेश गर्ने तयारी गरेको पुष्टि भएको छ। किसान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा औपचारिक रूपमा एमालेमा फर्किने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागिएको उल्लेख छ।

झाँक्री र श्रेष्ठले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्ने भएका छन्। झाँक्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विकास र समृद्धिको मार्गमा अघि बढ्न वैचारिक स्पष्टता र राजनीतिक एकता अपरिहार्य भएको बताएकी छिन्।

उनका अनुसार, ‘राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्न सैद्धान्तिक रूपमा नजिक रहेका शक्तिहरूबीच पुनः सहकार्यको आवश्यकता छ।’ झाँक्रीले आफूहरू लामो समयदेखि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयासरत रहेको दाबी गर्दै त्यो प्रयास अब ठोस निष्कर्षतर्फ पुगेको उल्लेख गरेकी छिन्।

यसैबीच, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टी एकता र आगामी राजनीतिक सहकार्यका विषयमा छलफल गरेका छन्। यी घटनाक्रमले पार्टीभित्रको असन्तुष्टि खुला रूपमा सतहमा आएको र पुनः एकता प्रक्रियातर्फ नयाँ मोड आउने संकेत दिएको छ।

धेरै पढिएको