News Desk
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनसम्बन्धी विवाद गहिरिँदै गए विभाजनको जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समितिले शीघ्र निर्णय नगरे स्थिति गम्भीर बन्न सक्ने बताए।
उनका अनुसार विशेष महाधिवेशनको मागसहित करिब ५५ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। उनले सो हस्ताक्षर प्रमाणिकरण प्रक्रिया सुरु हुनेबित्तिकै कांग्रेसमा फुटको सम्भावना बढ्ने बताए।
कोइरालाले महाधिवेशनका विषयमा बहुमत हस्ताक्षरको बलले निर्णय गरिने सुनिश्चित भए पनि पार्टी एकता जोगाउन केन्द्रीय समिति बैठकमै निष्कर्ष निकाल्नु अपरिहार्य रहेको स्पष्ट पारे।
उनले पार्टीभित्रको आन्तरिक मतभेदलाई संवाद र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पार्टीको रूपमा कांग्रेसले विगतको इतिहास दोहोर्याउन नहुने चेतावनी पनि दिएका छन्।