नेकपा र जसपा बीच एकता प्रक्रिया निर्णायक चरणतर्फ
News Desk
Nov-20 , 2025 तारिख 06:39 बिहान

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच चलिरहेको एकता प्रक्रिया निर्णायक चरणतर्फ उन्मुख भएको छ। पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आज पुनः बसेको वार्ता सकारात्मक वातावरणमा अघि बढेको नेकपा नेता देव गुरुङले जानकारी दिए।

वार्तामा नेकपातर्फबाट देव गुरुङसँगै प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी थिए। जसपा नेपालतर्फबाट भने राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा र परशुराम बस्नेतलगायतका नेताहरू उपस्थित रहेका थिए।

१२ वाम घटकहरूको एकताबाट नेकपा गठन भएपछि अशोक राई नेतृत्वको जसपासँग पार्टी एकीकरणका विषयमा निरन्तर संवाद चल्दै आएको छ। नेकपाका मुख्यसचिव गणेशमान पुनका अनुसार दुवै दलबीचको पछिल्लो संवाद अत्यन्तै सकारात्मक रहेको छ।

वार्तामा सहभागी नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक तथा संगठनात्मक पक्षमा विस्तृत छलफल भइरहेको उल्लेख गर्दै चाँडै नै ठोस सहमतिमा पुगिने विश्वास व्यक्त गरे।