‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई लक्षित गर्दै एमाले कार्यकर्ताहरू सडकमा उत्रिए
News Desk
Nov-21 , 2025 तारिख 12:35 बेलुका

नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडौंमा शक्ति प्रदर्शनसहित जुलुस निकालेका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी शीर्ष नेताहरूको सुरक्षा सुनिश्चित गर्न गठन गर्न लागिएको ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई लक्षित गर्दै कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

पार्टीका युवा–कार्यकर्ता बबरमहलबाट बानेश्वरतिर जुलुससहित अघि बढेका छन्। युवा संघका इञ्चार्ज महेश बस्नेत र अध्यक्ष क्षितिज थेवेको नेतृत्वमा रहेको यो जुलुस अन्ततः कार्यक्रमस्थल कार्की व्यांक्वेटमा पुग्नेछ, जहाँ अध्यक्ष ओलीले ‘भोलेन्टियर फोर्स’ को औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले कार्यकर्ताले मूलतः माइतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस निकाल्ने योजना बनाएको बताइएको थियो। तर सोभन्दा अघि नै जेनजी आन्दोलनका घाइतेहरू माइतीघरमा भेला भएपछि सुरक्षा र व्यवस्थापनका कारण एमाले कार्यकर्ताहरूले आफ्नो जुलुस मार्ग परिवर्तन गरी बबरमहल क्षेत्रमै सीमित गर्नुपरेको पार्टी स्रोतको भनाइ छ।

जुलुसमा ठूलो संख्यामा युवाहरू सहभागी भएका छन् भने सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी कडा पारेको छ।