News Desk
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले सरकारले राष्ट्रिय मुद्दाप्रति बेवास्ता गर्न जारी राखे देश फेरि अर्को ठुलो आन्दोलनतर्फ धकेलिन सक्ने चेतावनी दिएकी छन।
सोमबार राष्ट्रियसभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सरकार र प्रशासनले राष्ट्रिय गौरवका परियोजनाहरूलाई प्राथमिकतामा नराखेको आरोप लगाइन।
सांसद चन्दले भनिन्, “२१ वटा राष्ट्रिय गौरवका आयोजना छन। सरकारले आफ्नै स्रोत–साधनले यी योजनाहरू अघि बढाउन सक्दैन भने, के अब ‘अल्फा आन्दोलन’ को प्रतीक्षा गरिरहेको हो? ‘जेनजी आन्दोलन’ त भइसक्यो, अब अर्को आन्दोलनको तयारी हो कि?”
उनका अनुसार देशका महत्वपूर्ण विकास आयोजनाहरूलाई रोकिराख्ने प्रवृत्तिले आमनागरिकको असन्तोष चुलिँदै गएको छ, र यसको जिम्मेवारी सरकार र नौकरशाही दुवैले लिनुपर्नेछ। उनले विशेष गरी रानीजमरा सिँचाइ आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन सरकारलाई आग्रह गरिन।
यसै समितिमा नेपाली काँग्रेसका सांसद युवराज शर्माले पनि सरकारप्रति कडा आलोचना गरे। उनले सरकारले आसन्न निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न कुनै ठोस कदम नचालेको बताए। शर्मा अनुसार ंजेनजी आन्दोलनंका क्रममा देखिएका आपराधिक गतिविधिमा संलग्नहरूविरुद्ध कारबाही गर्ने प्रहरीको पहललाई समेत गृह मन्त्रालयले रोकाएको आरोप लगाए।
बैठकमा सांसदहरूले सरकार, मन्त्रालय र कर्मचारी तहमै योजनाको कार्यान्वयनमा देखिएको ढिलाइ सुधार गर्न माग गरेका छन।