प्रधानमन्त्री कार्की र​ एमाले नेता बिच​ निर्वाचनका विषयमा देखिएको असम्झदारी हटाउन विशेष छलफल
News Desk
Nov-28 , 2025 तारिख 06:33 बिहान

सरकार र  नेकपा एमालेबीच लामो समयपछि संवादको प्रक्रिया अगाडि बढेको छ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा देखिएको असम्झदारी हटाउन एमालेका शीर्ष नेताहरूसँग बालुवाटारमै विशेष छलफल बुलाउँदै संवादको नयाँ ढोका खोल्नुभएको हो। प्रधानमन्त्री बनेपछि एमालेसँग छुट्टै औपचारिक भेट यही पहिलो हो।

छलफलका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बर्तौला लगायतका नेता बालुवाटार पुगे। बैठकमा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, ‘जहाँ जहाँ अविश्वास देखिन्छ, त्यहाँ सरकार विश्वसनीयता कायम गर्नेगरी कदम चाल्न तयार छ,’ भन्ने आश्वासन दिनुभयो।

एमाले पक्षले भने आफूहरू निर्वाचनमा सहभागी हुन पूर्णतः इच्छुक भए पनि आवश्यक पूर्वाधार र वातावरण अझै नबनेको बतायो। सरकारले प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी केही संवैधानिक प्रश्नहरूको स्पष्टता नआएसम्म विश्वस्त हुन कठिनाइ रहेको उनीहरूको तर्क थियो। एमाले नेताहरूका अनुसार, हालको परिस्थितिमा सरकार चुनाव गराउनेमा ‘१० प्रतिशत मात्र भरोसा’ गर्न सकिने अवस्था छ।

छलफलमा सहभागी सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भने सरकारले निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन गराउने अडान लिएर अघि बढिरहेको प्रतिक्रिया दिए।

यही दिन प्रधानमन्त्री कार्कीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनमैत्री वातावरण निर्माण गर्न राजनीतिक सहकार्य र सहयोगको अपेक्षा रहेको बताउँदै अध्यक्ष ठाकुरलाई सक्रिय भूमिका खेल्न अनुरोध गर्नुभएको थियो।