News Desk
आफ्नै नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनदेखि सार्वजनिक रूपमा गरेका वाचा विपरीतका निर्णयहरू गर्दै आएको सन्दर्भमा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। पार्टीभित्र नेतृत्व पुस्तान्तरणको आवश्यकता औँल्याउँदै दुवैले आगामी महाधिवेशनबाट कुनै पनि कार्यकारी पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका हुन्।
जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक व्यवस्था र जनचेतनामा व्यापक परिवर्तन आइसकेको उल्लेख गर्दै उनीहरूले पार्टीभित्र नयाँ पुस्तालाई अघि बढाउन थिति बसाल्नुपर्नेमा जोड दिएका छन्। यही उद्देश्यका साथ महाधिवेशनमार्फत नेतृत्व तहमा चुनाव नलड्ने निर्णय गरेको उनीहरूको भनाइ छ।
५६ वर्षभन्दा बढी समय सक्रिय राजनीतिमा बिताएका युवराज ज्ञवालीले वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टीप्रति नयाँ पुस्ताको भरोसा र आकर्षण बढाउन आफूले पदको मोह त्यागेको बताए। दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका उनले राजनीतिमा जीवनभर पद ओगटिरहने प्रवृत्तिको अन्त्य आवश्यक रहेको धारणा राख्दै यसपटक कुनै पनि कार्यकारी पदमा उम्मेदवारी नदिने निर्णय गरेको स्पष्ट पारे।
यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी छन्। एउटै व्यक्ति सधैं केन्द्रमा रहिरहनु उचित नहुने बताउँदै उनले आफैंले बनाएको विधान मिच्ने प्रवृत्तिका कारण पार्टीभित्र समस्या बढ्दै गएको टिप्पणी गरेकी छन्। २०३६ सालपछि ११ वर्ष भूमिगत जीवन बिताएकी शाक्य पाँचौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा सक्रिय रहँदै आएकी थिइन्। उनले बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छन्।
ज्ञवाली र शाक्य दुवै पार्टीभित्र इमानदार नेताका रूपमा परिचित छन् र मन्त्री पदमा रहँदा समेत कुनै आर्थिक विवादमा नतानिएका व्यक्तित्व मानिन्छन्। उनीहरूसँगै अध्यक्ष केपी शर्मा ओलीका समकालीन नेता केशव बडाल, दलबहादुर राना लगायतले पनि सक्रिय राजनीति त्यागिसकेका छन्, जसले एमालेभित्र पुस्तान्तरण र आत्मसमिक्षाको बहसलाई थप बल दिएको देखिन्छ।