उम्मेदवारी विवादले एमालेमा चर्कियो असन्तोष, ओलीको सूचीबाट छुट्टिँदै एकपछि अर्को नेता
News Desk
Dec-16 , 2025 तारिख 06:57 बिहान

नेकपा एमालेको ११औँ महाधिवेशनका लागि उम्मेदवारी दर्तासँगै पार्टीभित्र आन्तरिक असन्तोष सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्यानल सूचीप्रति असन्तुष्टि जनाउँदै उनका नजिक मानिएका नेताहरू नै एकपछि अर्को गर्दै छुट्टै उम्मेदवार बनेका छन्। यसले महाधिवेशनमा प्रतिस्पर्धा तीव्र बन्ने संकेत गरेको छ।

अध्यक्ष ओलीको निर्देशनअनुसार रामबहादुर थापा, विष्णु पौडेल, गुरुप्रसाद बराल र पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डप पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। तर, उपाध्यक्षका रूपमा नाम समावेश गरिएका प्रदीप ज्ञवालीले भने उपाध्यक्ष छोड्दै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन्। आफू निकट नेताहरूसँग ज्ञवालीले पार्टीमा एउटै व्यक्तिलाई बारम्बार दोहोर्‍याउने प्रवृत्ति उचित नभएको भन्दै नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ज्ञवाली यसअघि महासचिवका बलिया दाबेदार मानिन्थे र सोहीअनुसार तयारी पनि गरेका थिए। तर, अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्‍याएपछि ज्ञवालीले त्यो निर्णयप्रति संकेत गर्दै पदाधिकारीको उम्मेदवारी नदिने निर्णय लिएका हुन्। दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवालीका लागि यसपटक महासचिवको दाबी स्वाभाविक मानिएको थियो।

ओलीसँग असन्तुष्ट बनेका अर्का नेता हुन्, अग्नि खरेल। सचिवका दाबेदार मानिएका खरेललाई ओलीले केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित गरेपछि उनले ओलीको निर्देशन अस्वीकार गर्दै सचिव पदमै उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्य तथा पूर्व कानून मन्त्री खरेल ओली प्रधानमन्त्री हुँदा विज्ञ सल्लाहकारसमेत थिए।

यस्तै, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि ओलीको सूचीबाट अलग भएका छन्। यसअघि स्थायी कमिटी सदस्य रहेका गौतमलाई केन्द्रीय सदस्यमा झारिएपछि उनले उपमहासचिवमा उम्मेदवारी दिएका हुन्। नेतृत्वले गुटबन्दी गरेको र मूल्यांकन नगरेको आरोप लगाउँदै उनले अन्तिम निर्णय कार्यकर्ताले गर्ने बताएका छन्।

ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठ पनि यसपटक असन्तुष्ट देखिएका छन्। स्थायी कमिटी सदस्यबाट केन्द्रीय सदस्यमा घटुवा गरिएपछि उनले ओलीको निर्देशन अस्वीकार गर्दै सचिवमा उम्मेदवारी दिएका छन्। विगतमा ओलीको खुलेर प्रशंसा गर्ने नेताको रूपमा चिनिएका श्रेष्ठको यो निर्णयले पार्टीभित्र तरंग ल्याएको छ।

पूर्व मन्त्री लालबाबु पण्डितले पनि ओलीको साथ छोड्दै सचिव पदमा उम्मेदवारी दिएका छन्। यसअघि पनि दशौँ महाधिवेशनमा पदाधिकारीमा उठ्न खोजेका पण्डित यसपटक भने अनुभव र संगठनात्मक योगदानलाई आधार बनाएर सचिवमा उम्मेदवारी दिएको बताउँछन्।

ओली निकट मानिने रघुजी पन्तले पनि केन्द्रीय सदस्यमा झारिनु अस्वीकार गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। दशौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका पन्तले यसपटक दुवै पक्षका कार्यकर्ताबाट समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।

यद्यपि, सबै असन्तुष्टि ओलीले बेवास्ता गरेका छैनन्। लेखराज भट्टको हकमा ओलीले निर्णय सच्याउँदै सचिवको सट्टा उपमहासचिवको उम्मेदवार बनाएका छन्। भट्टले दोहोर्‍याएर सचिव नलड्ने घोषणा गरेपछि भानुभक्त ढकाललाई सचिव र भट्टलाई उपमहासचिव बनाइएको हो।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा हुने भएको छ। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल दोहोरिएका छन् भने ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्। सोमबार उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ भने एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।

उम्मेदवारी विवाद र असन्तुष्ट समूहको सक्रियताले यसपटकको महाधिवेशन केवल औपचारिक प्रक्रिया नभई पार्टीभित्र नेतृत्व, मूल्यांकन र पुस्तान्तरणको बहससँग जोडिएको निर्णायक प्रतिस्पर्धा बन्ने देखिएको छ।