एमाले नेतृत्व चयनको मतदान आज नहुने, प्राविधिक कारणले भोलिका लागि सर्ने सम्भावना
News Desk
Dec-16 , 2025 तारिख 07:01 बिहान

नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने तयारी भए पनि प्राविधिक कारणले तत्काल सम्भव नदेखिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकेको भए पनि सो तालिका कार्यान्वयनमा आउन नसक्ने संकेत देखिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अन्तिम नामावली प्रकाशनपछि विद्युतीय भोटिङ मेसिनमा विवरण लोड गर्न कम्तीमा १६ घण्टा लाग्ने भएकाले आज मतदान सम्भव छैन। उनका अनुसार भोलि बिहानदेखि मतदान सुरु गर्न सकिने अवस्था बन्नेछ। सुब्बाले सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिँदै बुधबार मतदान भएमा बिहीबार साँझसम्म परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य रहेको बताए।

एमालेले मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको छ। तर उम्मेदवारको संख्या धेरै र प्राविधिक प्रक्रिया लामो हुने भएकाले आजको कार्यतालिका प्रभावित भएको हो।

महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले यसपटक पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यस्तै, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन्। दुवै नेताले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।

पदाधिकारी तहमा मात्रै कूल ४२ जनाले उम्मेदवारी दिएका छन्। प्रारम्भिक सूचीअनुसार उपाध्यक्ष पदमा ११ जना, महासचिवमा २ जना, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ।

महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्। महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवालीले भने उपाध्यक्ष अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन्, जसलाई लिएर पार्टीभित्र आलोचना पनि भइरहेको छ।

उपाध्यक्ष पदमा ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बा गुरुङ उम्मेदवार बनेका छन्। पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्की उम्मेदवार बनेका छन्। यही समूहको समर्थनको संकेत पाएपछि रघुजी पन्तले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् र उनी साझा उम्मेदवार बन्ने प्रयासमा देखिएका छन्।

उपमहासचिव पदमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार बनेका छन् भने पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्। यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

सचिव पदमा ओली समूहबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेत उम्मेदवार बनेका छन्। पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्का उम्मेदवार बनेका छन्। यस्तै, पूर्वमन्त्री अग्नि खरेल र लालबाबु पण्डितले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एमालेको यस महाधिवेशनबाट १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था छ। उम्मेदवारीको संख्या र आन्तरिक प्रतिस्पर्धाका कारण यसपटकको नेतृत्व चयन प्रक्रिया निकै चासोका साथ हेरिएको छ।