नेकपा (एमाले) को मतदान आज​ बिहान​ ८ ब​जेदेखि
News Desk
Dec-17 , 2025 तारिख 07:29 बिहान

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान अब बुधबार सम्पन्न हुने भएको छ।

विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या देखिएपछि मंगलबारका लागि तय गरिएको मतदान प्रक्रिया स्थगित गरी बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरिएको हो। केपी शर्मा ओली समूहका महासचिव पदका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा बुधबार बिहान ८ बजेदेखि मतदान हुने जानकारी गराएका थिए। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुँदैछ। मतदान समय पटक–पटक परिवर्तन हुँदै सुरुमा बिहान ११ बजे, त्यसपछि मध्यान्ह १२ बजे, दिउँसो ३ र ४ बजे तथा साँझ ७ बजे तोकिए पनि अन्ततः बुधबार बिहानका लागि सारिएको हो।

मतदानका लागि भृकुटीमण्डपभित्र ८० स्थानमा विद्युतीय मतपत्र राखिएको छ भने मतदानअघि अभ्यास गर्न बाहिर १० वटा नमुना मतपत्रको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूका अनुसार एक जनालाई मतदान गर्न कम्तीमा २० मिनेट समय लाग्नेछ।

एमालेको केन्द्रीय नेतृत्वका १९ पदाधिकारीसहित ३०१ सदस्य पदका लागि कुल ६४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। पाँच उपाध्यक्ष पदका लागि ११ जना, एक महासचिव पदका लागि दुई जना र तीन उपमहासचिव पदका लागि सात जना उम्मेदवार मैदानमा छन्। यस्तै, नौ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।