News Desk
चितवन | उज्यालो नेपाल पार्टीद्वारा चितवनमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै युवानेता नारायण भण्डारी ‘समाजसेवी' ले देशको वर्तमान अवस्था, युवाको भूमिका र पुस्तान्तरणको राजनीतिबाट सामाजिक परिवर्तन अपरिहार्य भइसकेको स्पष्ट पारेका छन।
सभामा बोल्दै भण्डारीले पुरानो सोच, व्यक्तिकेन्द्रित प्रवृत्ति र अवसरवादको राजनीति अब अस्वीकार्य भएको उल्लेख गर्दै इमानदारी, उत्तरदायित्व र युवाको सक्रिय सहभागितामार्फत मात्र जनताको भरोसा जित्न सकिने बताए। उनले भने, “राजनीतिमा पुस्तान्तरण हुनु भनेको उमेरको परिवर्तन मात्र होइन, सोच, संस्कार र कार्यशैलीको परिवर्तन हो।”
समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका भण्डारीले शिक्षा, रोजगारी, स्वास्थ्य र सुशासनलाई उज्यालो नेपाल पार्टीको केन्द्रीय एजेन्डा बनाइने स्पष्ट पार्दै पार्टी जनताको वास्तविक आवाज बन्ने विश्वास व्यक्त गरे। उनले युवालाई निर्णायक भूमिकामा ल्याउन नसकिएसम्म देशले गति नलिने धारणा राखे।
कार्यक्रममा पार्टी अध्यक्ष तथा मन्त्री कुलमान घिसिङले पनि सम्बोधन गर्दै विकास र समृद्धिको यात्रामा युवाको योगदान निर्णायक हुने बताए। उनले नारायण भण्डारीजस्ता ऊर्जावान, प्रतिबद्ध र समाजबाट खारिएका युवानेताले पार्टीलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे।
सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूका अनुसार चितवनको यो सभाले उज्यालो नेपाल पार्टीप्रति जनचासो बढ्दै गएको र पुस्तान्तरणको राजनीतिप्रति आमनागरिकको अपेक्षा प्रस्ट देखाएको छ।
