News Desk
वैकल्पिक शक्तिहरू अलग अलग रूपमा निर्वाचनमा जाँदा अन्ततः परम्परागत दलहरू नै पुनः बलियो बन्ने निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सहकार्य तथा एकताको प्रयास फेरि चर्चामा आएको छ।
यसअघि नेतृत्व र निर्वाचनसम्बन्धी विषयमा सहमति नजुट्दा निष्कर्षविहीन बनेको संवाद, रास्वपा सभापति रवि लामिछाने थुनामुक्त भएपछि पुनः अघि बढ्ने अपेक्षा तीनै पक्षमा देखिएको छ। पूर्ण एकता सम्भव नभए पनि कम्तीमा चुनावी तालमेल गरेर संयुक्त रूपमा निर्वाचनमा जाने धारणा उनीहरूबीच साझा देखिन्छ।
फागुन २१ गते हुने निर्वाचनमा वैकल्पिक शक्तिले परम्परागत दलहरूलाई चुनौती दिन सक्छ कि सक्दैन भन्ने बहस चर्किरहेका बेला रास्वपा, उज्यालो नेपाल र बालेन्द्र शाह एकै मोर्चामा उभिन सक्ने सम्भावनालाई धेरैले चासोका साथ हेरिरहेका छन्।
वास्तवमा, दल दर्ताको समयमै यी शक्तिहरूबीच एकताको पहल नभएको होइन। नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा नआए पुरानै राजनीतिक शक्ति हावी हुने निष्कर्षसहित तीनै पक्षले आ–आफ्नो वार्ता टोली बनाएर संवाद अघि बढाएका थिए। तर त्यतिबेला रवि लामिछाने सहकारी प्रकरणमा थुनामा रहेकाले नेतृत्व तहमा प्रत्यक्ष संवाद हुन सकेन।
त्यसपछि दोस्रो र तेस्रो तहमा पटक–पटक छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन। मुख्यतः नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा सहमति बन्न सकेन। रास्वपाले रवि लामिछानेबाहेक अरू कसैलाई नेतृत्व मान्न नसकिने अडान राख्दै आएको छ भने आफ्नो निर्वाचन चिन्ह ‘घण्टी’ छाड्न पनि तयार छैन।
उता उज्यालो नेपालका अगुवा कुलमान घिसिङ पनि ‘बलेको चिम’ चिन्ह छाड्ने पक्षमा देखिँदैनन्। त्यसमाथि लामिछाने थुनामै रहेको अवस्थामा नेतृत्व कसरी स्वीकार गर्ने भन्ने प्रश्न अन्य पक्षले उठाउँदै आएका थिए। यही कारण एकताको प्रयास बीचमै ओझेलमा परेको थियो।
अब लामिछाने थुनामुक्त भएपछि तीनै शक्ति फेरि एकताको प्रयासलाई निष्कर्षमा पुर्याउने अपेक्षामा देखिएका छन्। तर कानुनी रूपमा भने अहिले एकता सहज छैन। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा साझा निर्वाचन चिन्हसहित आयोगमा निवेदन दिनुपर्ने समय बितिसकेको छ। अब कसरी अघि बढ्ने भन्नेमा अन्योल देखिन्छ।
यद्यपि, एउटै चिन्हमा चुनाव लडेर पछि एकता गर्ने विकल्प भने खुला छ। तर यसरी अघि बढ्दा पनि समानुपातिकतर्फको बन्दसूची भने आ–आफ्नै दलले बुझाउनुपर्ने बाध्यता छ, जसले पुनः सहमतिमा चुनौती थपेको छ। त्यसैले पूर्ण एकता सम्भव नभए चुनावी तालमेल गरेर भए पनि संयुक्त रूपमा मैदानमा उत्रनुपर्ने मत बलियो बन्दै गएको छ।
यी तीन शक्तिबाहेक अन्य नयाँ दल र समूहबीच पनि सहकार्यको प्रयास चलिरहेको छ। जेन–जी अभियन्ताहरू समेत नयाँ वैकल्पिक शक्ति निर्माणका लागि यी समूहसँग सहकार्य खोजिरहेका छन्। यसअघि संवादमा संलग्न रास्वपाका एक नेताका अनुसार लामिछाने थुनामुक्त भएपछि अब फेरि औपचारिक संवाद सुरु हुने तयारी छ।
नेतृत्वसम्बन्धी अघिल्ला अलमललाई पन्छाएर तीनै शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास अब सार्थक हुने विश्वास रास्वपा पक्षको छ। कुलमान पक्ष पनि नयाँ परिस्थितिमा संवाद नयाँ ढंगले अघि बढ्नेमा आशावादी देखिन्छ। बालेन्द्र शाह पक्षले पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता स्वीकार गरे पनि त्यसको मोडालिटीबारे अझै स्पष्ट धारणा बनाइसकेको छैन।
पार्टी, नेतृत्व र चुनाव चिन्हका विषयमा फरक मत भए पनि एउटा कुरामा भने तीनै पक्ष सहमत देखिन्छन्अहिले नै वैकल्पिक शक्तिहरू एक हुन नसके आगामी दिनमा यस्तो अवसर फेरि नआउन सक्छ। यही बुझाइका कारण संवादलाई चाँडै निष्कर्षमा पुर्याउने दबाब तीनै पक्षमा बढ्दै गएको छ।