प्र​धान​म​न्त्रीमा रास्व​पाले बालेन्द्र शाहलाई अघि सार्ने बारे छ​ल​फ​ल​
News Desk
Dec-23 , 2025 तारिख 06:38 बिहान

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र छलफल तीव्र बन्दै गएको छ।

वैकल्पिक शक्तिहरूबीच एकता वा कार्यगत सहकार्यको सम्भावना खोज्दै आएको रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारीका लागि नयाँ विकल्पबारे छलफल गरिरहेको रास्वपा नेता शिशिर खनालले जानकारी दिनुभयो। उहाँका अनुसार सो छलफलमा बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सम्भावना पनि विचाराधीन छ।

यद्यपि निर्वाचनमा सहभागी हुँदै पार्टी सभापतिमा फर्किएका रवि लामिछाने नै स्वाभाविक उम्मेदवार भए पनि उहाँमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेका कारण वैकल्पिक पात्रको खोजी गर्नुपरेको खनालले स्पष्ट पार्नुभयो। प्रारम्भिक चरणमा उज्यालो नेपाल पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नाम पनि छलफलमा आए तापनि हाल त्यो सम्भावना कमजोर बन्दै गएको उहाँको भनाइ छ।

कान्तिपुर टेलिभिजनको सोमबार राति प्रसारण हुने कार्यक्रम **‘फायरसाइड’**मा कुराकानी गर्दै खनालले रास्वपाभित्र प्रधानमन्त्रीका रूपमा देशलाई निकास दिन सक्ने अन्य व्यक्तित्वबारे पनि सोच्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले कुलमान घिसिङलाई स्वाभाविक विकल्पका रूपमा लीए पनि त्यसबाहेक काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पनि सम्भावित पात्र हुन सक्ने धारणा राख्नुभयो।

सभापति लामिछाने नै पहिलो रोजाइ भए पनि कानुनी जटिलताका कारण अन्य विकल्पमा छलफल गर्नु आवश्यक परेको खनालको भनाइ छ। उहाँका अनुसार हाल बालेन्द्र शाह पक्षसँग संवाद अघि बढिरहेको छ। पार्टीको नाम, नीति, नेतृत्व र चुनाव चिन्हलाई कायम राख्दै सबैलाई समेट्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।

कुलमान घिसिङसँग केही साताअघि भएको छलफल सकारात्मक निष्कर्षमा नपुगेपछि अर्को विकल्पका रूपमा बालेन्द्र शाहसँग ‘नेगोसिएसन’ भइरहेको खनालले खुलाउनुभयो। सबै विषयमा सहमति जुट्न नसके चुनावी सहकार्यको विकल्प पनि खुला रहने उहाँले स्पष्ट पार्नुभयो।