“आक्रोश र असन्तुष्टि पोख्ने नाममा देशलाई संकटमा पार्ने काम कसैले नगरौँ,” प्रधानमन्त्री कार्की
News Desk
Dec-23 , 2025 तारिख 06:54 बिहान

प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई देशमा शान्ति र स्थायित्व कायम गर्न अपिल गर्नुभएको छ। आज सिंहदरबारमा निर्वाचन आयोग, विभिन्न राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारवालाबीच सम्पन्न बैठकमा उहाँले दलहरू एकताबद्ध भए हिंसा र अराजकता फैलाउने कुनै पनि प्रयास असफल हुने स्पष्ट पार्नुभयो।

बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनका क्रममा सुरक्षा व्यवस्थाबारे उठिरहेका चासोलाई सम्बोधन गर्दै सरकारले पूर्ण रूपमा सुरक्षित वातावरण निर्माण गर्न काम गरिरहेको बताउनुभयो। “सबै दल एकजुट भएर अघि बढे यहाँ कुनै पनि आतङ्ककारी वा आपराधिक समूहले हमला गर्न सक्दैन,” उहाँले भन्नुभयो, “त्यसैले म सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु।”

प्रधानमन्त्रीले निर्वाचन बहिष्कार गरिरहेका दललाई पनि लोकतन्त्र र शान्तिको हितमा निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभयो। मुलुकमा दर्ता भएका ११४ वटै राजनीतिक दल एक ठाउँमा उभिए अशान्तिको कुनै सम्भावना नरहने उल्लेख गर्दै उहाँले शान्ति कायम गर्न राजनीतिक दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम तथा कर्मचारी वर्गको सक्रिय भूमिकाको आवश्यकता औँल्याउनुभयो।

“आक्रोश र असन्तुष्टि पोख्ने नाममा देशलाई संकटमा पार्ने काम कसैले नगरौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामीसँग भएको समयलाई सदुपयोग गरेर निर्वाचनमा सहभागी हुनुपर्छ।”

उहाँले विगतमा भएका कमजोरी र त्रुटिकै कारण भदौ २३ र २४ का दुःखद घटना भएको उल्लेख गर्दै त्यसपछि सिर्जना भएको आवेग र आलोचनालाई सरकारले आत्मसात् गर्दै अघि बढिरहेको बताउनुभयो। ती घटनाले आम नागरिकमा गहिरो प्रभाव पारेको भन्दै सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश र परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले जेनजी र युवा पुस्ताले खोजिरहेको परिवर्तन बुझ्नु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएको बताउनुभयो। “जनताले वास्तविक परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दलसहित हामी सबै सुधारिन आवश्यक छ,” उहाँले जोड दिनुभयो, “आलोचना सहन तयार छौँ, देशका लागि आवश्यक परे भोग्न पनि तयार छौँ। शान्ति र स्थायित्वका लागि सबैले आफ्ना व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ, यही बाटो देश र हामी सबैका लागि हितकर हुन्छ।”