News Desk
काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने समझदारी बनेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफलले निर्वाचन प्रक्रियामा अघि बढ्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
बैठकमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनबारे देखिएको अन्योल अन्त्य भएको बताउनुभयो।
उहाँका अनुसार एमाले अध्यक्ष ओलीले पार्टी चुनावमा जान तयार रहेको स्पष्ट पारेका छन् भने सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउनुपर्ने धारणा राखेका छन्। कांग्रेस सभापति देउवाले संसद् पुनःस्थापनाको विषय अब एजेण्डा नभएको र निर्वाचनतर्फ अघि बढ्नुपर्ने स्पष्ट धारणा राख्नुभएको मन्त्री खरेलले जानकारी दिनुभयो।
बैठकमा नेकपा संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै एमाले अध्यक्ष ओलीलाई पनि चुनावमा सहभागी हुन आग्रह गर्नुभएको प्रवक्ता खरेलले उल्लेख गर्नुभयो। साथै, दाहालले सरकारले हालसम्म गरेका कामको प्रशंसा समेत गर्नुभएको जनाइएको छ।
बैठकमा निर्वाचनको समयमा मौसमले असर गर्न सक्ने सम्भावित अवस्था र चाडपर्वको समय जुध्ने विषयमा पनि छलफल भएको थियो। तर प्रधानमन्त्री कार्कीले सरकारले फागुन २१ मै निर्वाचन गर्ने संवैधानिक म्यान्डेट पाएको स्पष्ट पारेपछि यस विषयमा थप विवाद नउठेको मन्त्री खरेलको भनाइ छ।
सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित त्यसक्रममा आइपर्न सक्ने चुनौती र समस्याको सामना गर्दै अघि बढ्ने योजना बनाएको मन्त्री खरेलले बताउनुभयो। उहाँका अनुसार निर्वाचनसँगै सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय पनि सरकारको प्राथमिकतामा रहनेछन्।