"अब कसैले पनि पार्टीका सदस्यलाई हेपेर निर्णय लाद्न सक्दैन": गगन थापा
News Desk
Jan-12 तारिख 05:49 बिहान

काठमाडौँ l नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहँदै आएको सदस्यलाई उपेक्षा गर्दै पार्टी सञ्चालन गर्ने अभ्यास अब समाप्त भएको स्पष्ट पारेका छन्। काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काँग्रेस अब परिवर्तनको निर्णायक मोडमा पुगेको बताए।

महामन्त्री थापाका अनुसार विशेष महाधिवेशन कुनै व्यक्ति बन्ने वा नबन्ने विषयसँग जोडिएको छैन, बरु यो पार्टीको चरित्र, कार्यशैली र भविष्यको दिशा तय गर्ने संघर्ष हो। उनले यो महाधिवेशन नेतृत्वको चाहनाले होइन, पार्टी प्रतिनिधिहरूको दबाब र मागअनुसार बोलाइएको भन्दै बन्दसत्रबाट आउने कुनै पनि निष्कर्ष सबैका लागि स्वीकार्य हुने बताए।

थापाले काँग्रेस जिउँदो बहस र विचारको पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र प्रश्न गर्ने संस्कार कहिल्यै नमरेको जिकिर गरे। उनले काँग्रेसलाई निष्क्रिय र मौन कार्यकर्ताको पार्टी ठान्ने सोचलाई विशेष महाधिवेशनले चिर्दै लगेको टिप्पणी गरे।

उनले भने, “आजदेखि पार्टी सञ्चालन गर्ने पुरानो तरिका भत्किएको छ। अब कसैले पनि पार्टीका सदस्यलाई हेपेर निर्णय लाद्न सक्दैन। यो आन्दोलन पार्टी कसरी चल्ने भन्ने गम्भीर प्रश्नसँग जोडिएको छ। तपाईंहरूले नीति पनि फेर्नुपर्छ, नेतृत्व पनि परिवर्तन हुनुपर्छ भनेर उठाउनुभएको आवाजलाई हामीले सुनेका छौँ। भोलि बन्दसत्रले जे निर्णय गर्छ, त्यो सबैलाई स्वीकार्य हुन्छ। काँग्रेस लासहरूको होइन, जिउँदा विचार र सक्रिय मानिसहरूको पार्टी हो भन्ने कुरा स्थापित भएको छ।”

महामन्त्री थापाले पार्टीभित्र विचार, बहस र प्रश्नलाई कहिल्यै रोक्न नसकिने स्पष्ट पार्दै यहाँ कसैलाई पनि ‘नबोल’ भनेर रोक्ने अवस्था नरहेको बताए। उनका अनुसार विशेष महाधिवेशनले काँग्रेसलाई थप लोकतान्त्रिक, उत्तरदायी र कार्यकर्तामैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ।