News Desk
काठमाडौँ l नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेका कमजोरी, संगठनभित्र देखिएका समस्या र असन्तुष्टिलाई गम्भीर रूपमा समीक्षा गर्दै भविष्यमा ती कमजोरी दोहोरिन नदिने दृढ संकल्पका साथ विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेका छन्।
काठमाडौँमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले समय र परिस्थितिअनुसार सोच र कार्यशैली परिवर्तन नगरी नयाँ यात्रामा अघि बढ्न नसकिने बताए। उनका अनुसार पुरानै तरिकाबाट अघि बढ्दा अपेक्षित परिणाम नआउने भएकाले नयाँ दृष्टिकोण, प्रतिबद्धता र जिम्मेवारीबोध आवश्यक छ।
शर्माले असन्तुष्टि, राजनीतिक अस्थिरता र विभिन्न खाले द्वन्द्वका बीच पनि काँग्रेसको नेतृत्वमा मुलुकले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे। उनले भदौ २३ र २४ गते भएका घटनालाई एउटै तराजुमा राखेर मूल्यांकन गर्नु उपयुक्त नहुने बताउँदै अब विगतका विवादभन्दा माथि उठेर सद्भाव, सुशासन र समृद्धिको मार्गतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले भने, “फागुन २१ गते सम्पन्न निर्वाचनमा काँग्रेसबाट भएका कमजोरी र देखिएका समस्यालाई पहिचान गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिने दृढ संकल्पका साथ हामीले विशेष महाधिवेशन आह्वान गरेका हौँ।”
महामन्त्री शर्माले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राष्ट्र निर्माणमा योगदान दिँदै आएका तर निरन्तर उपेक्षा र पीडा सहनुपरेको वर्गप्रति सम्मान प्रकट गर्न पनि विशेष महाधिवेशन महत्वपूर्ण अवसर बनेको बताए। उनका अनुसार यो महाधिवेशनले पार्टीलाई आत्ममूल्यांकन, सुधार र पुनर्जागरणको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।