News Desk
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भाजपा राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको बताइएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न उच्चस्तरीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यासको अनुभव आदानप्रदान, राजनीतिक सहकार्यका सम्भावना तथा क्षेत्रीय हितसँग सम्बन्धित विषयहरूमा विचारविमर्श हुन सक्ने अपेक्षा गरिएको छ।
यता, प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बोधनका क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि देशभित्र राजनीतिक बहस तीव्र बनेको छ। उक्त अभिव्यक्तिले सीमा सम्बन्धी विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
यही पृष्ठभूमिमा रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तले विशेष चासोका साथ हेरेको छ। विशेषगरी कालापानी–लिपुलेक लगायतका सीमा विवादका विषय पुनः चर्चामा रहेका बेला प्रमुख राजनीतिक दलका शीर्ष नेताको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा विश्लेषण गर्न थालिएको छ।
नेपाल–भारत सम्बन्धका संवेदनशील विषयहरू चर्चामा रहेका समयमा भएको यस भ्रमणले आगामी दिनमा दुई देशबीचको राजनीतिक संवाद र सम्बन्धका आयामबारे थप बहस र अपेक्षा जन्माएको छ।