रामप्रसादराई गाउँपालिकामा साकेला सिली संरक्षणका लागि प्रशिक्षण कार्यक्रम
News Desk
Feb-07 तारिख 07:39 बिहान

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले किरात समुदायको परम्परागत सांस्कृतिक नृत्य साकेला सिलीको संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल थालेको छ। पालिकाले रैथाने ज्ञान महोत्सव २०८२ को अवसर पारेर साकेला सिलीसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सुरु गरेको हो।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार पछिल्लो समय साकेला सिली नाच्ने चलन त रहे पनि यसको सांस्कृतिक मर्म, दर्शन र अर्थबारे जानकारी कमजोर हुँदै गएकाले प्रशिक्षण आवश्यक ठानिएको हो। यही उद्देश्यका साथ साकेला सिलीलाई विधिवत् रूपमा बुझाउने र अभ्यास गराउने कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो।

आगामी माघ २६ गतेसम्म सञ्चालन हुने आवाससहितको प्रशिक्षणमा अधेता शालिक सतासक राई, संरक्षक राई, अर्जुन राई तथा मानबहादुर राईले सहजीकरण गरिरहनुभएको छ। प्रशिक्षणमा ३० जना सहभागी छन्।

गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले पालिकाभित्र रहेका विभिन्न जातजातिका संस्कृति र रैथाने ज्ञानको संरक्षण तथा प्रवर्द्धन स्थानीय सरकारको दायित्व भएकाले रैथाने ज्ञान महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। सोही महोत्सवअन्तर्गत सञ्चालन भइरहेको साकेला सिली प्रशिक्षणले यसको दीगो संरक्षणमा थप टेवा पुग्ने उहाँको भनाइ छ।

यसैबीच, माघ २६ गते आयोजना हुने बृहत् रैथाने महोत्सवको तयारीसमेत तीव्र पारिएको छ। महोत्सवमा तीन फरक शीर्षकमा प्यानल डिस्कोर्स आयोजना गरिने आयोजकले जनाएको छ। पर्यटनमा रैथाने स्वाद र स्वामित्व विषयमा पाविहाङ राई, सचिन डाँगी, दिलकुमार खालिङ र सम्पदा लिम्बुले बहस गर्नुहुनेछ। शिक्षामा स्वदेशी सपना शीर्षकमा रजत राई, सूर्य राई, निर्माण किराती र भूमिका पाख्रीन सहभागी हुनेछन् भने लोक रिझाइको राजनीति विषयमा राजन समीप, यजस्वी राई, रिझन रानामगर र प्रकाश राईबीच छलफल हुनेछ।

पालिकाको आर्थिक सहयोगमा आयोजना हुने यो कार्यक्रम तेस्रो श्रृङ्खलाको रूपमा सञ्चालन हुन लागेको हो। यसअघि आमचोक तथा गत वर्ष रामप्रसादराई गाउँपालिकामै यस्ता कार्यक्रम आयोजना भइसकेको कार्यक्रम संयोजक राजन समीपले जानकारी दिनुभयो। विगतका श्रृङ्खलामा खगेन्द्र सङ्ग्रोला, युग पाठक, कैलाश राई, राजन मुकारुङ, कविता राई, हरि रोका, सुदन किराती, अशोक राईलगायत विभिन्न साहित्यकार, लेखक र चिन्तकहरूको सहभागिता रहिसकेको छ।

धेरै पढिएको