News Desk
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। उक्त समितिले पशुपति क्षेत्रमा पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ तयारी अघि बढाएको छ।
यस वर्षको महाशिवरात्रि पर्वका लागि गठित समितिमा काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई समेत समेटिएको छ। पर्व व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पशुपति क्षेत्र विकास कोषले लिएको जनाएको छ।
मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारीका कार्यहरू तीव्र पारिएको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। ती उपसमितिहरूले आ–आफ्नो कार्यक्षेत्रअनुसार तयारीलाई प्रभावकारी बनाइरहेका छन्।
यसैक्रममा मूल समारोह समितिअन्तर्गतको सुरक्षा उपसमितिको बैठक शुक्रबार सम्पन्न भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। पर्व अवधिभर श्रद्धालुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध मिलाइने बताइएको छ।