नयाँदिल्लीमा बिस्फोटपछि आतंकवादीविरोधी कानुन लागू
News Desk
Nov-12 , 2025 तारिख 06:15 बिहान

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भएको भीषण बिस्फोटमा १३ जनाको मृत्यु भएपछि सरकारले राजधानी क्षेत्रमा आतंकवादीविरोधी कानुन तत्काल प्रभावका साथ लागू गरेको छ।

सो कानुन लागू भएपछि सुरक्षा निकायलाई कुनै पनि व्यक्तिलाई औपचारिक मुद्दा दायर नगरी नै पक्राउ गर्न र हिरासतमा राख्न सक्ने अधिकार प्राप्त भएको छ। लालकिल्ला नजिकै पार्क गरिएको कारमा भएको विस्फोटको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन।

घटनापछि दिल्लीसँगै मुम्बई, उत्तर प्रदेश र अन्य प्रमुख शहरहरूमा समेत उच्च सतर्कता अपनाइएको छ। रेलवे स्टेशन र सार्वजनिक स्थलहरूमा कडा सुरक्षा जाँच सुरु गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाल, चीन, श्रीलंका, माल्दिभ्स र भुटानलगायतका छिमेकी देशहरूले विस्फोटप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अमेरिका र बेलायतले आफ्ना नागरिकहरूलाई भारत भ्रमण गर्दा सतर्क रहन सुझाउँदै ट्राभल एडभाइजरी जारी गरेका छन्।

यसैबीच, भुटान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार थिम्पुमा आयोजित कार्यक्रममा बोल्दै घटनाका दोषीहरूलाई कुनै हालतमा नछोडिने चेतावनी दिनुभयो। उहाँले पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै पूरै भारत एकताबद्ध रहेको बताउनुभयो।

सोमबार साँझ करिब ६:५५ बजे भएको उक्त विस्फोटमा २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

धेरै पढिएको