News Desk
युक्रेनले बिहीबार रुससँग युद्धका क्रममा मारिएका करिब एक हजार युक्रेनी सैनिकका अवशेष फिर्ता पाएको पुष्टि गरेको छ। किएभ र मस्कोबीच भएका युद्धबन्दी तथा मृतकहरूको अवशेष आदान–प्रदानसम्बन्धी सहमतिअनुसार यो प्रक्रिया सम्पन्न भएको युक्रेनी पक्षले जनाएको छ।
किएभस्थित युद्धबन्दी उपचार तथा समन्वय मुख्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै भनेको छ, “आज युक्रेनले आफ्ना सैनिक तथा केही सर्वसाधारण नागरिकका अवशेष फिर्ता पाएको छ। रुसले युक्रेनी सैनिकका रूपमा चिनाएको करिब एक हजार शवहरू हस्तान्तरण गरिएको छ।”
मुख्यालयका अनुसार फिर्ता ल्याइएका अवशेषहरूको वैज्ञानिक परीक्षण, डीएनए पहिचान तथा अन्य आवश्यक प्रक्रियाहरू सुरु गरिनेछ। पहिचान पूरा भएपछि ती शवहरू सम्बन्धित परिवार वा स्थानीय निकायलाई बुझाइनेछ।
उता, रुसको सरकारी सञ्चारमाध्यमले अज्ञात स्रोतहरू उद्धृत गर्दै यो अदला–बदलीअन्तर्गत ३० जना रुसी सैनिकका अवशेष पनि युक्रेनबाट प्राप्त भएको दाबी गरेको छ।
सर्वजनिक तथ्यांकअनुसार, युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनले मस्कोबाट १५ हजारभन्दा बढी सेना र नागरिकका अवशेष फिर्ता ल्याइसकेको छ।