News Desk
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिलाले अचानक कफिनभित्रै चलमल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्ममा परेका छन।
बैङ्कक नजिकको नोन्थाबुरी प्रान्तस्थित वाट रात प्राखोङ थाम बौद्ध मन्दिरले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा, सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी महिला धीरे–धीरे हात र टाउको हल्लाइरहेको देखिन्छ। यो दृश्य देखेपछि मन्दिरका कर्मचारीहरू केही क्षण स्तब्ध बने।
मन्दिरका महाप्रबन्धक पैराट सुदथुपले बताएअनुसार ६५ वर्षीया ती महिलालाई उनको भाइले फित्सानुलोकबाट दाहसंस्कारका लागि ल्याएका थिए। कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएपछि मन्दिरका कर्मचारीले कफिन खोल्दा उनी हल्का आँखा खोल्दै सहायता मागेजस्तो देखिएको थियो।
पैराटका अनुसार, ती महिला करिब दुई वर्षदेखि अशक्त अवस्थामा थीन। केही दिनअघि सास नलिएको जस्तो देखिएपछि उनलाई मृत ठानी भाइले कफिनमा राखेर करिब ५०० किलोमिटर यात्रा गर्दै बैङ्कक ल्याएका रहेछन। उनले पहिल्यै आफ्नो अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थीन्, तर अस्पतालले मृत्यु प्रमाणपत्र नहुँदा प्रक्रिया अघि बढाउन सकेन।
मन्दिरले निःशुल्क दाहसंस्कार सेवा दिने भए पनि आवश्यक कागजात नपुगेपछि प्रक्रिया रोकिएको थियो। त्यही बीचमा कफिनभित्रबाट आएको आवाजले सबैलाई सचेत बनायो।
कर्मचारीहरूले तुरुन्तै उनको स्वास्थ्य अवस्था जाँचेर नजिकैको अस्पतालमा उपचारका लागि पठाएका छन। मन्दिरका मठाधीशले उपचार खर्चसमेत व्यहोर्ने प्रतिज्ञा गरेका छन।