News Desk
एयरबसले आफ्ना ए–३२० सिरिजका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर अपडेट अनिवार्य रहेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार अतिरिक्त उडान रद्द तथा ढिलाइ गर्नुपर्ने घोषणा गरेका छन।
अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक समस्या अनुसन्धानपछि एयरबसले सबै ग्राहकलाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको हो। कम्पनीका अनुसार, तीव्र सौर्य विकिरणका कारण उडान नियन्त्रण प्रणालीका महत्वपूर्ण डेटा बिग्रने जोखिम भेटिएको छ, जसले ए–३२० परिवारका धेरै विमानलाई असर गर्न सक्ने अनुमान छ।
सफ्टवेयर अपग्रेड धेरै विमानमा केही घण्टामै सकिने भए पनि करिब एक हजार विमानमा यो प्रक्रिया हप्तौँसम्म लम्बिन सक्ने एएफपीले एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
एयर फ्रान्सले शनिबार थप कति उडान रद्द हुने भन्ने गणना भइरहेको भन्दै प्रभावित यात्रुहरूलाई एसएमएस र इमेलमार्फत जानकारी दीरहेको छ। यसले शुक्रबार मात्रै ३५ उडान रद्द गरेको थियो। कोलम्बियाली एभियाङ्काले आफ्नो ७० प्रतिशत फ्लीट समस्याबाट प्रभावित भएको बताएको छ।
युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (ऐआषा) ले एयरबसले समस्या औपचारिक रूपमा सूचित गरेपछि आवश्यक सुरक्षा उपायहरू तुरुन्त लागू गरेको जनाएको छ। “यस्ता कदमहरूले केही समय उडान तालिकामा अवरोध ल्याउन सक्छ, तर यात्रुको सुरक्षा नै सर्वोच्च प्राथमिकता हो,” ऐआषा ले भन्यो।
उडान नियन्त्रण कम्प्युटर निर्माता थेल्सले आफ्ना उपकरणहरू एयरबसका प्राविधिक मापदण्डअनुसार पूर्ण रूपमा प्रमाणित भएको र समस्या परेको सफ्टवेयर आफ्नो क्षेत्रअन्तर्गत नरहेको स्पष्ट पारेको छ। एयरबसले भने अपडेटका कारण परेको असुविधाबापत ग्राहक र यात्रुसमक्ष क्षमायाचना गरेको छ।
अक्टोबर ३० मा जेटब्लूको एक ए–३२० विमानमा कम्प्युटर त्रुटि देखिएपछि उडान नियन्त्रण कठीन बनेको थियो र क्यानकुन–नेवार्क मार्गमा उडिरहेका बेला विमान अचानक तल झरेको थियो। पाइलटले आपतकालीन अवतरण गराउन बाध्य भएका थिए, जसमा केही यात्रु घाइते भएका थिए।
जेटब्लूले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ए–३२० तथा ए–३२१ मोडेलमा आवश्यक परिवर्तन सुरु गरिसकेको जनाएको छ। अमेरिकन एयरलाइन्सले पनि चेतावनीपछि आफ्नो करिब ३४० विमानमध्ये अधिकांशलाई शनिबारसम्ममा सेवा सामान्य अवस्थामा ल्याउने लक्ष्य राखेको छ, तर धेरै ढिलाइ हुने बताएको छ। युनाइटेड एयरलाइन्सले पनि छवटा विमान प्रभावित भएको स्वीकार गर्दै केही उडान परिवर्तन हुने जनाएको छ। डेल्टाले आवश्यक अद्यावधिक शनिबार बिहानमै सम्पन्न गर्ने बताएको छ।
एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स, सेबु प्यासिफिकलगायत एयरलाइन्सहरूले पनि उडान ढिलाइ, रद्द तथा पुनःबुकिङसम्बन्धी जानकारी क्रमिक रूपमा सार्वजनिक गरिरहेका छन। फिलिपिन्समा मात्रै शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।
सन १९८८ देखि उत्पादन हुँदै आएको ए–३२० एयरबसको सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै बिक्री हुने विमान हो। सेप्टेम्बरसम्म एयरबसले १२,२५७ विमान बिक्री गरिसकेको छ, जुन संख्या बोइङ ७३७सँग लगभग बराबरीमा पुग्छ।