बलुन विस्फोटको घटनालाई लिएर कमलेस कुमार पक्राउ
News Desk
Feb-19 , 2025 तारिख 06:31 बिहान

पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बलुन विस्फोट भएपछि भारतीय नागरिक कमलेस कुमार पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामका अनुसार ४१ वर्षीय कुमारलाई घटनापछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

फागुन ३ गते उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँसेर उडाउने क्रममा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले बलुन बिस्फोट भएको थियो। घटनाका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। अर्थमन्त्री पौडेलले कीर्तिपुर अस्पतालमा उपचारपछि सोमबार डिस्चार्ज भए पनि मेयर आचार्यको उपचार अझै केही दिन अस्पतालमै जारी रहने चिकित्सकहरूले बताएका छन्।

कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माका अनुसार हाइड्रोजन बलुन प्रयोगबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी घटनामा संलग्न व्यक्तिहरूसँग बयान लिइरहेको छ भने पक्राउ परेका कमलेस कुमारसँग हाइड्रोजन उत्पादन र प्रयोग प्रक्रियाबारे सोधपुछ भइरहेको छ। कानुनी प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीको सिफारिस गरिने बताइएको छ।

घटनाको विस्तृत छानबिनका लागि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरेका छन्। समितिलाई १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै, भविष्यमा हाइड्रोजन ग्यास नियमनका उपायसमेत सिफारिस गर्न भनिएको छ।

धेरै पढिएको