News Desk
काठमाडौं, नेपाल – पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा दुई साताको बसाइपछि काठमाडौं फर्किने क्रममा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका छन्। यसलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आज बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत संवेदनशील क्षेत्रहरू र मुख्य चोकहरूमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआईजी टेक तामाङले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक सुरक्षा रणनीति बनाइएको बताए। उनले भने, "जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।"
पूर्वराजा शाह माघ २७ गते पोखरा पुगेका थिए। पोखरा विमानस्थलमा उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो। पोखरा बसाइका क्रममा उनले विभिन्न शक्तिपीठहरूको दर्शन गरेका थिए।
शाहको पोखरा आगमनलाई लिएर स्थानीय तहमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठहरूको भ्रमणका लागि शाह परिवारसहित पोखरा आएका थिए।
काठमाडौंमा उनको आगमनलाई लिएर समर्थकहरूले स्वागत कार्यक्रमको आयोजना गरेका छन्। यसलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।