भारतबाट गाउँ फ​र्कदै ग​र्दा साथीको ह​त्या ग​रेका ४ वर्षदेखि फरार पक्राउ
News Desk
Jun-24 , 2025 तारिख 07:15 बिहान

अछाम, असार १० – चार वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दुई प्रतिवादी अखेर प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा अछाम जिल्लाको रामारोशन गाउँपालिका–६ निवासी ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुलबहादुर साउँद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार उनीहरूविरुद्ध सोही वडाका गगन साउँदको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। २०७८ साल कार्तिक २१ गते गगनको शव भिरमा फेला परेको थियो। भारतबाट घर फर्किंदै गरेका गगनको मृत्युपछि उनीहरू फरार रहेका थिए।

मृतक गगन भारतमा मजदुरी गर्थे। घटना भएको दिन उनी भारतबाट घर फर्कंदै थिए र बाटोमा झपड र कुलबहादुरसँग भेट भएको कुरा उनले श्रीमतीलाई जानकारी गराएका थिए। “नास्ता खाएर आउँदैछु” भन्ने अन्तिम सन्देशपछि उनी सम्पर्कविहीन भएका थिए। केही समयपछि उनको शव भिरमा फेला परेको थियो।

गगनकी श्रीमतीले घटनाको पछि अनुसन्धान गर्दै झपड र कुलबहादुरविरुद्ध जाहेरी दिएकी थिइन्। उनका अनुसार ती दुई जना गगनका चिनजानका साथी थिए र अन्तिमपटक गगनसँगै देखिएका थिए।

पक्राउ पूर्जी जारी भएपछि दुबै जना फरार भइ भारततर्फ लागेका थिए। तर हाल उनीहरू गाउँ फर्किएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

 

धेरै पढिएको