News Desk
काठमाडौं ।
नेपाली विवाह संस्कृतिको मौलिकता, परम्परागत पहिरन र आधुनिक फेसनलाई एउटै मञ्चमा प्रस्तुत गर्दै राजधानीमा ‘बेहुली फेसन रनवे २०२६’ सम्पन्न भएको छ। सानमिक इभेन्ट्स एन्ड स्टुडियोद्वारा आयोजित प्रतियोगितामा कमला बस्नेतले ‘बेहुली क्विन’ को उपाधि जितेकी छन्।
शगुन ज्वेलर्सको प्रस्तुति तथा सेन्चुरी फेब्रिक इन्टरनेसनलको सहकार्य रहेको प्रतियोगिताको कोरियोग्राफी तथा सञ्चालन चर्चित कोरियोग्राफर एवं कार्यक्रम सञ्चालक रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा नेपाली विवाह परम्परासँग जोडिएका पहिरन, गहना र बेहुलीका विविध शैलीलाई परम्परागत शैली र आधुनिक फेसनको संयोजनमार्फत सहभागीहरूलाई मञ्चमा उतारिएको थियो।

नेपाली समाजमा विवाह सामाजिक संस्कारसँगै पहिरन, गहना, कला र पारिवारिक परम्परासँग जोडिएको उत्सव हो। यसै सांस्कृतिक पक्षलाई फेसनको माध्यमबाट प्रस्तुत गर्ने प्रयासका रूपमा आयोजना गरिएको ‘बेहुली फेसन रनवे २०२६’ मा सुशिला लम्सालले ‘बेहुली एलिगेन्स क्विन’, प्रतीक्षा खनालले ‘मस्ट ग्रेसफुल बेहुली’ र अमृता कार्कीले ‘बेस्ट बेहुली अफ द रनवे’ को उपाधि प्राप्त गरिन। त्यस्तै, मालिका ढुंगाना ‘अर्गनाइजर्स च्वाइस’ घोषित भइन्।
फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वसहित विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा परम्परागत नेपाली विवाह संस्कृतिलाई समकालीन फेसनसँग जोड्ने प्रयास गरिएको थियो। बेहुलीको पहिरन, शृङ्गार र गहनाको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै नेपाली मौलिकतालाई नयाँ पुस्तासमक्ष प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका प्रमूख सन्दीप पण्डितले जनाएका छन।
यस्ता कार्यक्रमले नेपाली विवाह संस्कृतिमा आधारित पहिरन, गहना तथा सिर्जनात्मक प्रस्तुतिको प्रवर्द्धन गर्नुका साथै नेपाली फेसन उद्योगमा मौलिक पहिचानलाई स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।