पक्राउ परेकाहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीलाई निर्देशन
News Desk
Jul-24 , 2025 तारिख 05:38 बिहान

प्रहरी प्रधान कार्यालयले अबदेखि कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न सम्बन्धित सम्पूर्ण प्रहरी कार्यालयहरूलाई परिपत्रमार्फत निर्देशन दिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा कुनै पनि सार्वजनिक जानकारीका क्रममा पक्राउ परेकाहरूको फोटो र भिडियो नप्रदर्शन गर्न भनिएको छ।

यो निर्देशन महान्यायाधिवक्ताको कार्यालयबाट आएको सिफारिसपछि जारी गरिएको हो। महान्यायाधिवक्ताको कार्यालयले गएको असार महिनामै पक्राउ परेका व्यक्तिको गोपनीयता संरक्षण गर्न तस्बिर तथा भिडियो सार्वजनिक नगर्न सुझाव दिइसकेको थियो।

सोही सिफारिस प्रहरी प्रधान कार्यालयमा प्राप्त भएपश्चात्, तुरुन्तै देशभरका मातहत प्रहरी युनिटहरूलाई कार्यान्वयन गर्नका लागि परिपत्र पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिए।

यद्यपि, प्रवक्ता घिमिरेले जघन्य अपराधका विशेष घटनाहरू वा गम्भीर सार्वजनिक चासोका अवस्थामा सम्बन्धित निकायको स्वीकृति लिएर मात्र तस्वीर वा भिडिओ सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको बताए।

 

धेरै पढिएको