कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडप साम्य​ हुदै
News Desk
Aug-10 , 2025 तारिख 07:02 बिहान

कैलाली | शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ। प्रशासन र सुरक्षाकर्मीको सक्रियतामा कारागारमा शान्ति कायम गर्न प्रयास भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ, ५० भन्दा बढी सुरक्षाकर्मी स्थायी रूपमा खटिएका छन्, जसले कारागारको अवस्था नियन्त्रणमा ल्याउन मद्दत गरेको छ।

झडपमा घाइते भएका अधिकांश कैदीबन्दीहरू सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। तर एक गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं एयरलिफ्ट गर्ने तयारी भएको छ। नेपाल सेनाको 'स्काई ट्रक'मार्फत ती घाइतेलाई काठमाडौँ ल्याइछ।

घटनापछि गृहमन्त्री रमेश लेखकले गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग आपतकालीन बैठक गरेका छन्। बैठकमा कारागार सुरक्षामा सुधार ल्याउने विषयमा विशेष छलफल भएको छ।

उक्त झडपको कारण पत्ता लगाउन तथा दोषी पहिचान गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

कारागारमा विगत केही दिनदेखि दुई समूहबीच विवाद बढ्दै गइरहेका बेला शुक्रबार रातिको झडप हिंसात्मक बनेको हो। कैदीहरूको संख्या १५० को क्षमताको कारागारमा ७०० भन्दा बढी रहेकाले अवस्था झनै जटिल बन्न पुगेको जनाइएको छ। मृतक भरत चौधरी धनगढी-४ का बासिन्दा थिए र उनी लागुऔषध मुद्दामा थुनामा थिए।

हाल कारागार क्षेत्र शान्तिपूर्ण बनेको जनाइएको छ, तर अझै उच्च सतर्कता अपनाइएको छ। प्रशासनले भविष्यमा यस्ता घटनाहरू रोक्न व्यवस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

धेरै पढिएको