जेन–जी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिद–बिक्री गर्नेहरूमाथि कारबाही हुने भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था लगायतका संरचनामा भएको तोडफोड र लुटपाटबाट निकालेका सामग्री किनबेच गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
ब्यूरोका अनुसार आन्दोलनका क्रममा ऐतिहासिक कागजात, बहुमूल्य सामग्री, हातहतियार, नगद तथा अन्य महत्वपूर्ण जिन्सी सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। त्यसैले त्यस्ता सामानहरूको खरिद–बिक्री नगर्न र नगराउन सबैलाई आग्रह गरिएको छ। हाल यस सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको ब्यूरोले जनाएको छ।
यस्तै, जनकपुरधाम र धनुषाको विभिन्न स्थानमा भएको तोडफोड, आगजनी तथा लुटपाट घटनामा संलग्न व्यक्तिमाथि प्रहरीले नियन्त्रण कारबाही थालेको छ। भदौ २४ गतेदेखि प्रारम्भ गरिएको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाले ६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ परेकामध्ये दुईजनामाथि मधेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड गर्नुका साथै हातहतियार लुटेको आरोप छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।