काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारको मूल गेटमा प्रहरीको हतियार खोसेर पोजिसन लिएका ‘सम्राट’ उपनामले परिचित राजु परियार पक्राउ परेका छन्। ललितपुरका ३६ वर्षीय परियारले आन्दोलनकै दिन प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) खोसेर कालो पोशाक, टोपी र माक्स लगाई सिंहदरबारको गेटमा पोजिसन लिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। प्रहरीले उनीमाथि स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको, साथै मुलुकी अपराध संहिता दफा २८५ अनुसार आपराधिक उपद्रव गरेको अभियोग लगाएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ।
प्रहरीका अनुसार परियारले आन्दोलनका क्रममा प्रहरीले चलाउने एसएलआर खोसेका थिए तर हालसम्म त्यो हतियार बरामद हुन सकेको छैन। बयानका क्रममा उनले उक्त हतियार सेनालाई बुझाएको दाबी गरे पनि यसबारे आधिकारिक पुष्टि भएको छैन।
राजु परियारको आपराधिक इतिहास लामो रहेको प्रहरीको दाबी छ। उनीविरुद्ध विभिन्न मितिमा आठवटा उजुरी दर्ता भएका छन् र उनी कम्तीमा छपटक प्रहरीको फन्दामा परिसकेका छन्। उनको आपराधिक पृष्ठभूमिमा दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, एक बैंकिङ कसूर र दुईवटा अभद्र व्यवहारका मुद्दा दर्ता छन्।
प्रहरी र स्रोतहरूका अनुसार, पहिलो पटक २०७५ पुसमा बानेश्वर वृत्तमा ठगीको मुद्दा दर्ता भएपछि परियार निरन्तर विभिन्न आपराधिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनीविरुद्ध काठमाडौं र ललितपुरका विभिन्न प्रहरी कार्यालयहरूमा गंगामाया देउला, रोमन महर्जन, रवि तामाङ, ऋतबहादुर गिरी, राजकुमार खड्गी, सुनिल महर्जन र रोशन भण्डारीलगायतले छुट्टाछुट्टै जाहेरी दिएका छन्।
बारम्बार पक्राउ पर्नु, छुट्नु र पुनः अपराधमा संलग्न हुने उनको प्रवृत्ति प्रहरीका अनुसार उनको ‘जीवनशैली’ नै बनेको छ। अहिले प्रहरीले उनको हतियार र सम्भावित सहकर्मीको खोजीलाई तीव्र पारेको जनाएको छ।