News Desk
नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङको सेवा अवधि समाप्त हुन नजिकिँदै गर्दा, संगठनको नेतृत्व सम्हाल्ने नयाँ आईजीपीको खोजी औपचारिक रूपमा सुरु भएको छ।
तीस वर्षे सेवा अवधि पूरा गर्दै खापुङ चाँडै अवकाशमा जाँदैछन। उनको कार्यकालमा भदौ २३ गतेको **‘जेनजी आन्दोलन’**का क्रममा ७६ जनाको मृत्यु भएको थियो। त्यसपछिल्लो दिन सरकारी कारबाहीको विरोधमा कैदीहरू कारागारबाट फरार हुनुका साथै हतियार लुटिने घटनाले देशभर सुरक्षा चुनौती थपिएको मानिन्छ। अबको नयाँ प्रहरी नेतृत्वको काँधमा यो सुरक्षा अवस्थालाई पुनःसन्तुलनमा ल्याउने महत्त्वपूर्ण जिम्मेवारी हुनेछ।
नयाँ आईजीपी चयन प्रक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। यस दौडमा दानबहादुर कार्की, डा। मनोजकुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन। कार्की, केसी र अधिकारी २०८२ वैशाखमा आईजीपी खापुङसँगै एआईजीमा बढुवा भएका थिए भने शाह सोही वर्ष जेठ १५ गते बढुवा भएका हुन।
वरीयता सूचीअनुसार कार्की पहिलो, अधिकारी दोस्रो, डा। केसी तेस्रो र शाह चौथो स्थानमा छन। डा। केसी उपत्यका प्रहरी प्रमुख रहँदा नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएको थियो, जसले उनको नामलाई बढी चर्चित बनाएको थियो।
प्रहरी ऐन र नियमावलीका अनुसार आईजीपी चयनमा ज्येष्ठता, कार्यक्षमता, नेतृत्व क्षमता लगायतका मापदण्डहरूलाई आधार मानिन्छ। प्रहरी अधिकारीहरूले ज्येष्ठतालाई बेवास्ता गर्नु नहुनेमा जोड दिएका छन। नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति, सुरक्षा, अमन–चयन कायम राख्ने र अपराध नियन्त्रण गर्ने भएकाले, यसको शीर्ष पदमा योज्ञ र सक्षम व्यक्तित्व आउनुपर्ने पूर्व एआईजी उत्तम सुवेदीको भनाइ छ।
उनका अनुसार हालको परिस्थितिमा नेतृत्व गर्ने व्यक्ति नीतिगत रूपमा दृढ, संगठनात्मक रूपमा सक्षम र मनोबल पुनर्स्थापन गर्न सक्ने हुनुपर्छ। पूर्व आईजीपी वसन्तबहादुर कुँवरका अनुसार सबै दाबेदारहरू क्षमता र अनुभवका हिसाबले योज्ञ छन्, तर अन्तिम छनोट व्यावसायिकता, कूटनीतिक कौशल र समन्वय क्षमताका आधारमा हुनुपर्छ।
त्यस्तै, पूर्व आईजीपी अच्युतकृष्ण खरेलले पनि आगामी प्रहरी महानिरीक्षक इमान्दार, निस्पक्ष र व्यावसायिक व्यक्तित्व हुनुपर्नेमा जोड दिएका छन। उनका अनुसार, अहिलेको चुनौतीपूर्ण सुरक्षापरिस्थितिमा प्रहरी नेतृत्वले संगठनको विश्वास र जनताको भरोसा पुनःस्थापना गर्न सक्नुपर्छ।