News Desk
ललितपुर । जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षति भएको ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटो पुनर्निर्माण गरी नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। प्रहरी वृत्त सातदोबाटो पुनःनिर्माण समितिले पुनर्निर्माण कार्य सम्पन्न भएपछि सोमबार आयोजित विशेष कार्यक्रममा उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।
मङ्सिर २८ गते प्रहरी वृत्त सातदोबाटो परिसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।
भवन हस्तान्तरण कार्यक्रममा पुनर्निर्माणमा सहयोग पुर्याउने दाता तथा सहयोगीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नागरिक र समुदायबाट नेपाल प्रहरीलाई प्राप्त सहयोग, सहकार्य र विश्वासप्रति आभार व्यक्त गरे। उनले समाज र नागरिकको अपेक्षाअनुसार स्वच्छ, व्यावसायिक तथा पारदर्शी आचरण अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरी सधैँ सक्रिय रहँदै आएको स्मरण गराए।

प्रहरी महानिरीक्षक कार्कीले नागरिकको शान्ति–सुरक्षा कायम गर्नुका साथै व्यवसाय सञ्चालनका लागि भयरहित वातावरण सिर्जना गर्न नेपाल प्रहरी निरन्तर जनमुखी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
प्रहरी वृत्त सातदोबाटो पुनःनिर्माण समितिका अध्यक्ष किरण केसी (ए रातो मकै)को सभापतित्व तथा समितिका सदस्य सुप्रभात भण्डारीको संयोजकत्वमा सम्पन्न उक्त भवन हस्तान्तरण कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी, उपत्यका ट्राफिक प्रहरी प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, सहयोगी दाता, स्थानीय बासिन्दा तथा प्रहरी अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा पुनर्निर्माण समितिका अध्यक्ष किरण केसी (ए रातो मकै)ले पुनर्निर्माण कार्य सम्पन्न भएसँगै प्रहरी सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा व्यक्त गरे।
