News Desk
दमक नगरपालिका–१, बुद्ध टोलस्थित रतुवा खोला किनारमा रहेको काँसघारी क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा हातहतियार र गोलीगठ्ठा फेला परेको जनाएको छ।
स्थानीयवासीले आज साँझ करिब ५ः०० बजे उक्त स्थानमा हातहतियार देखिएको सूचना दिएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर निरीक्षण गर्दा खिया लागेको अवस्थामा विभिन्न प्रकारका हातहतियार र गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
उनका अनुसार फेला परेका हातहतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालयबाट लुटेको अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ।
बरामद सामग्रीमा समावेश छनः
म्यागजिनसहितका दुई थान इन्सास राइफल
म्यागजिनविना एक थान इन्सास राइफल
३०३ बोरका १३४ राउण्ड
एसएलआरका पाँच राउण्ड
इन्सासको जङ्गी राउण्ड २० थान
गोली राख्ने बिन्दुली तीन थान
प्रहरीले फेला परेका हातहतियार र गोलीगठ्ठा कन्ट्रोलमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको जनाएको छ।