निर्वाचन अवधिमा ड्रोन प्रयोग निषेध, सामाजिक सञ्जाल निगरानी कडा
News Desk
Feb-08 तारिख 07:04 बिहान

काठमाडौँ, २४ माघ । सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ड्रोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर ड्रोन प्रयोग निषेध गरिएको जानकारी दिनुभयो।

प्रवक्ता काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले स्थापना गरेको अत्याधुनिक युनिटलाई थप सक्रिय बनाइने बताउनुभयो। निर्वाचन आचारसंहिता विपरीत मिथ्या वा भ्रमपूर्ण सूचना फैलाउने तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानीमा उक्त टोली परिचालित भइरहेको उहाँले स्पष्ट गर्नुभयो।

उहाँका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको छ। साथै, निर्वाचन प्रहरीको बीमाको व्यवस्था गर्नुका साथै सञ्चार सम्पर्क नपुग्ने मतदानस्थलको पहिचान गरी आवश्यक पूर्वतयारीसमेत भइरहेको छ।

गृह मन्त्रालयले सबै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने गरी उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइसकेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार भइरहेको कार्य, जनशक्ति परिचालन र बन्दोबस्तीको अवस्था समीक्षा गर्दै अझ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच, गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

धेरै पढिएको