News Desk
काठमाडौँ — १९ माघ २०७८
काठमाडौँ , दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथि पहिलो मोटरबेल पुल निर्माण गर्न नेपाल र भारतबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मंगलबार भौतिकमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरे । दार्चुला र धार्चुला जोड्न महाकाली नदीमाथि मोटरबेल पुल बनाउनेसम्बन्धी समझदारीपत्र देखाउँदै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ । साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव । तस्बिर सौजन्य : भारतीय राजदूतावास कार्यक्रममा भारतीय राजदूत क्वात्राले नेपाल–भारतबीच जनस्तरमै सम्बन्ध रहेको बताए । उक्त पुल निर्माणले समुदायमा थप सहयोग पुग्ने उनको भनाइ छ ।
भारतले नेपालको पूर्वाधार विकासमा लामो समयदेखि सहयोग गर्दै आएकामा धन्यवाद दिँदै मन्त्री यादवले पुल निर्माण छिटो सक्न दुवै देशका सम्बद्ध अधिकारीलाई अनुरोध गरिन् । पुल निर्माण भएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने जनाइएको छ । यसले दुवैतर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने पनि भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकतासाथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ । भारतको उत्तराखण्ड राज्य सरकारको अनुदान सहयोगमा पुल बन्न लागेको मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव केशवकुमार शर्माले बताए ।
‘यसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अन्तिम चरणमा छ,’ उनले भने,‘ अहिलेसम्मको अध्ययनअनुसार ११० मिटर लामो पुल बन्नेछ ।’ यसको लागत ४० करोड रुपैयाँ रहनेछ । ठेक्का भएको तीन वर्षभित्र निर्माण सकिसक्नुपर्ने उनले बताए । ‘अहिले दार्चुलामा वारिपारि गर्न कुनै मोटरबेल पुल छैनन्,’ उनले भने, ‘झोलुंगे पुलको भर पर्नुपर्ने बाध्यता छ ।’ स्थानीयले प्रतिदिन महाकाली नदी वारपार गरिहहनुपर्छ । जिल्ला सदरमुकाममा अहिलेसम्म मोटरबेल पुल नभएको दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट बताउँछन् । ‘एउटा झोलुंगे पुल सदरमुकामको मुख्य नाकामा छ, यो पुलको वारिपारि दुवैतिर भन्सार बसेको छ,’ उनले भने, ‘अहिलेसम्म यही पुलको भर छ ।’ मोटरबेल पुल बने थप सहज हुने उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )