एकै गाउँबाट २ करोडको अदुवा बिक्री
News Desk
Feb-03 , 2022 तारिख 12:36 बेलुका

सल्यान — २० माघ २०७८    

सल्यान , जिल्लाको शारदा नगरपालिका–१५ माल्नेटाका ज्ञानबहादुर घर्तीले झन्डै १० रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेका छन् । गत वर्ष १६० क्विन्टल अदुवा बिक्री गरी ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष करिब दुई सय क्विन्टल अदुवाबाट ५ लाख रुपैयाँ कमाए । अर्का किसान शेरबहादुर गिरीले पनि ९ रोपनी जग्गामा अदुवाखेती गरिरहेका छन् । उनले पनि करिब दुई सय क्विन्टल अदुवा फलाए । ताजा अदुवा ३०, बुर्नो अदुवा ६० र बीउ अदुवा १ सय रुपैयाँमा बिक्री भयो । गत वर्ष कोरोना महामारीका कारण व्यापारी नआउँदा समस्यामा परेका किसानले यस वर्ष भने समयमै अदुवा बजार पठाए । माल्नेटाको अदुवा देशभर प्रसिद्ध छ । यस वर्ष झन्डै २ करोडको अदुवा माल्नेटाबाट जिल्लाबाहिर गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माल्नेटाका किसानले परम्परागत शैलीमै अदुवा उत्पादन गरिरहेका छन् । ‘आधुनिक तरिकाले खेती गरे उत्पादन र आम्दानी थप बढ्थ्यो,’ घर्तीले भने, ‘अदुवा खेतीबाटै गाउँका सबै किसान आत्मनिर्भर छौं ।’

माल्नेटाका झन्डै ३ सय घरका किसानले व्यावसायिक अदुवा खेती गरिरहेका छन् । यस वर्ष झन्डै १ हजार रोपनीमा अदुवा लगाइएको उनको अनुमान छ । ताजा अदुवाबाट ४० लाख, बीउ अदुवाबाट झन्डै १ करोड र ७० लाख रुपैयाँको बुर्नो अदुवा बाहिरिएको घर्तीले जानकारी दिए । उत्पादित सबै अदुवा सुर्खेतमा सञ्चालित एक अदुवा प्रशोधन केन्द्रमा गएको उनले बताए । सोचेअनुसार भाउ पाउन नसके पनि सबै अदुवा एउटै कम्पनीले लगेपछि किसानलाई धेरै राहत भएको उनको भनाइ छ । ६ रोपनी जग्गामा अदुवा खेती गर्दै आएका स्थानीय गमबहादुर गिरीले पनि अदुवा खेतीबाट वार्षिक ३ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको बताए । ‘न बिक्रीको समस्या छ, न खेती गर्न नै,’ उनले भने, ‘व्यापारीहरू गाडी लिएर अदुवा किन्न बारीमै आउँछन् ।’ अदुवा सजिलै बिक्री भइरहेकाले यस वर्ष थप चार रोपनी जग्गामा खेती विस्तार गर्ने उनको योजना छ । माल्नेटाको अदुवा देशभरि प्रख्यात भए पनि सरकारले ‘बोसे’ अदुवा उत्पादन व्यवसायलाई प्रोत्साहन नगरेको शारदा नगरपालिका–१५ का वडाध्यक्ष कृष्णबहादुर गिरिले बताए ।

 

किसानलाई आधुनिक तरिकाले खेती गर्न सरकारले सहयोग गरे यहाँको अदुवा विदेशमा पनि निर्यात हुने देखिन्छ । माल्नेटाका किसानले यस वर्ष झन्डै आठ टन अदुवा बाहिरी जिल्लामा पठाएको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । ताजा अदुवा २५ देखि ३० रुपैयाँमा बिक्री भएको थियो । केही अदुवा बीउका रूपमा बिक्री भएको छ । सल्यानमा झन्डै दुई हजार हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए । यस वर्ष जिल्लाभरिबाट झन्डै २० करोड रुपैयाँको अदुवा बाहिर गएको कार्यालयको तथ्यांक छ । जिल्लाबाट उत्पादित अदुवा काठमाडौं, बुटबल, नेपालगन्ज, नारायणगढलगायत ठाउँ र भारतमा समेत जाने गरेको कार्यालयले जनाएको छ ।

 

 बिक्री नभएपछि सुठो बनाइँदै

बन्गाडकुपिण्डे–९ सेराका भद्रबहादुर बुढाथोकीले भने अदुवा बिक्री नभएपछि सुठो बनाउन थालेका छन् । सात रोपनीमा अदुवा लगाएका उनले झन्डै १० टन अदुवा फलाएका छन् । ‘बिक्री नै हुँदैन,’ उनले भने, ‘अहिलेसम्म ५ क्विन्टल अदुवा मात्र बिक्री भयो, बाँकी अदुवा सुठो बनाउन थालेको छु ।’ बाहिरबाट खरिदकर्ता नआएपछि स्थानीय गल्ला व्यापारीले पनि २२ रुपैयाँ प्रतिकिलोभन्दा बढी भाउ दिन चाहेका छैनन् । बाग्चौर नगरपालिका–२ खरिबोटका किसान सुरेश ओलीले पनि आफूले उत्पादन गरेको झन्डै ६० क्विन्टल अदुवा सुठो बनाउने तयारी गरेका छन् । कोरोनाको महामारीका कारण बाहिरबाट खरिदकर्ता नआएपछि समस्या भएको उनको भनाइ छ । ‘घाटा खाएर पनि कसरी बिक्री गर्नु ?’ उनले भने, ‘स्थानीय व्यापारीले २२ रुपैयाँभन्दा बढी भाउ दिनै मान्दैनन् ।’

आफूहरूले वर्षौंदेखि व्यावसायिक अदुवा खेती गरे पनि व्यापारीले आफैं भाउ तोक्दा किसान मर्कामा परेको उनको गुनासो छ । यो वर्ष भारतमा अदुवाको माग धेरै नभएपछि व्यापारी आउन नमानेको उनले बताए । खरिदकर्ता नआएपछि उत्पादन गरेको अदुवा कुहिने डरले किसानहरूले सुठो बनाएका हुन् । खरिदकर्ता नआएका कारण ३ वर्षयता अदुवा बिक्री गर्न समस्या भएको सिद्धकुमाख गाउँपालिकास्थित दहका धनबहादुर बस्नेतको भनाइ छ । ‘खाद्यबाली लगाउन छाडेर अदुवाखेती गरियो,’ उनले भने, ‘अदुवाले राम्रो भाउ नपाएपछि जीविकोपार्जनमा समस्या भएको छ ।’         

( कान्तिपुर दैनिक )