तीन दशकदेखि निरन्तर पाउँ उद्योग
News Desk
Feb-22 , 2022 तारिख 10:58 बिहान

काठमाडौँ — १० फागुन २०७८    

काठमाडौँ , हालैको एक दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित पौवाकी स्थानीय देवका श्रेष्ठको घर पुग्दा छतमा कलात्मक किसिमले अमला र लप्सीका पाउँ सुकाइएको थियो । घरको एउटा कोठामा कर्मचारी कमला श्रेष्ठ, जुनमाया र सम्पा तामाङ छोइला पाउँ बनाउन माडा सुकाउने तयारी गर्दै थिए । अर्को कोठामा प्याकिङ गर्न पाउँ ठिक्क पारिएको थियो । देवकाले सञ्चालन गरेको उद्योगमा अहिले अमला र लप्सीका पाउँ मात्र बनाइँदैन, प्याकिङसमेत यहीँ हुने गरेको छ । उद्योगले पछिल्लो समय चाडपर्वअनुसारका कोसेली बक्स पनि तयार गर्न थालेको छ । कोसेली बक्स र इको फ्रेन्डली भन्दै सिसाको जारमा पनि पाउँ प्याकिङ गर्ने गरेको देवकाले जानकारी दिइन् । ‘मलाई त प्लास्टिकमा प्याकिङ गर्ने बेच्ने तरिका मात्र थाहा थियो । अहिले भने छोराछोरीले चाडपर्वअनुसार छुट्टाछुट्टै बक्स तयार पार्छन्,’ देवकाले भनिन्, ‘अब पाउँ उद्योग विस्तारै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो ।’

काभ्रेस्थित नालामा जन्मेकी देवका श्रेष्ठले घरेलु तथा साना उद्योगका रूपमा ‘चम्पक पाउँ उद्योग’ सञ्चालनमा ल्याएको दुई दशक नाघिसक्यो । सञ्चालनमा ल्याएको एक दशकपछि मात्र उनले २०६८ सालमा उद्योग दर्ता गरेकी हुन् । माडा बनाएर सुरु भएको चम्पक उद्योगमा अहिले १२ थरी पाउँ पाइन्छ । लप्सी क्यान्डी, छोइला पाउँ, सुकुटी पाउँ, अमला पाउँ, चिनी क्यान्डी, मिक्स पाउँ, झोल पाउँ, हार्ट सेप क्यान्डीलगायतलाई उपभोक्ताले बढी रुचाएका छन् । अहिले हार्टसेप क्यान्डी र छोइला पाउँको माग बढी रहेको उनले सुनाइन् । इन्स्टिच्युट अफ कल्चर अफेयर जापान र नेपालले संयुक्त रूपमा २०५७ सालमा ‘प्रगतिशील महिला समूह’ का सदस्यलाई पाउँ बनाउने तालिम दिएको थियो । त्यही तालिम लिएपछि समूहकै ३ जना महिला टोलीले २५ हजार रुपैयाँ ऋण लिएर पाउँ बनाउन सुरु गरे । जसोतसो पाउँ बनाउने–बेच्ने गरे पनि उनीहरूले बढी उत्पादन गर्नेतर्फ भने ध्यान दिन सकेनन् ।

 

‘थोरै उत्पादन गरिने भएकाले बजारमा लैजानेबाहेक केही भएन, नयाँ ठाउँमा लैजानुपर्दा दर्ता नम्बर खोज्न थालियो,’ उनले भनिन्, ‘त्यसपछि साथीहरू दर्ता गर्नेतर्फ नगई छाड्ने कुरा गर्न थाले ।’ उत्पादन भइरहेको र बजारमा थोरै भए पनि राम्रै भइरहेकाले देवका भने त्यसलाई जोगाउनतर्फ लागिन् । त्यसैले उनले २०६९ सालमा ‘चम्पक पाउँ उद्योग’ दर्ता गरिन् । उद्योगबाट पाउँ उत्पादन गर्न थाले पनि धेरै अध्ययनअनुसन्धान नगरिएकाले त्यो बेला लामो समय पाउँ टिकाइराख्नु अर्को समस्या रहेको उनले सुनाइन् । ‘पाहिला पाउँ बनाउँदा २/३ महिना मात्र टिक्थ्यो । प्याकेटबाट पुतली निस्कनेसमेत हुन्थ्यो,’ उनले भनिन्, ‘बिग्रियो भन्दै फालिदिन्थ्यौं । घाटा पनि लाग्थ्यो ।’ टिकाउ र राम्रो बनाउनुपर्छ भनेर घरेलु कार्यालय सूर्यविनायकमा गएर पाउँ बनाउने तालिम दिलाइदिन आग्रह गरिन् । तालिम लिइन् पनि । तालिममा उनले प्याक गरिएको पाउँलाई दुई वर्षसम्म बिग्रिन नदिन ‘पोटासियम मेटा बाइसल्फेट’ (केएमएस) नामक रसायन प्रयोग गर्नुपर्ने थाहा पाइन् । केएमएस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृतिप्राप्त रसायन रहेको उनको भनाइ छ । अहिलेसम्म उनले उद्योगमा १५ लाख रुपैयाँ लगानी गरिसकेकी छिन् । अहिले मासिक दुईदेखि पाँच लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले जानकारी दिइन् ।

 

उद्योग सञ्चालन गर्नुअघि भक्तपुरकै कच्चापदार्थ (लप्सी) पर्याप्त हुने उनको अनुमान थियो । पहिले भक्तपुरस्थित चाँगुनारायण र छालिङको लप्सी प्रयोग गरी पाउँ बनाउने उनले अहिले त्यसले नपुगेर नुवाकोट र सिन्धुपाल्चोकबाट पनि लप्सी ल्याउन थालेकी छन् । सिन्धुपाल्चोकबाट ल्याएको अमलाको पनि उनले पाउँ बनाउँछिन् । उद्योगमा कोरोना महामारीअघि सात जनाले काम गरिरहेकामा अहिले ५ जना कार्यरत छन् । कर्मचारीलाई तलब र कच्चापदार्थ खर्चिएर पनि ३० देखि ४० हजार बचत हुने उनले सुनाइन् । अहिले सानो क्षमतामा चलिरहेको उद्योगलाई ठूलो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पनि सामान पुर्‍याउने देवकाको योजना छ । पहिला देवका आफैंले बजारीकरण गर्थिन् । हिजोआज छोराछोरीले सामाजिक सञ्जालमार्फत बजारीकरण गरिरहेको उनी बताउँछिन् । दराजलगायत अनलाइन सपिङ साइटमा पनि देवकाले उत्पादन गरेका पाउँ राख्ने गरिएको छ । उपत्यकाका विभिन्न स्थानका पसलमा समेत आफ्ना उत्पादन पाइने देवकाले जानकारी दिइन् । चितवन, बुटवललगायत सहरमा पनि उत्पादन पठाइरहेको उनले बताइन् ।

यसरी बनाइन्छ पाउँपाउँ बनाउन देवकाले विभिन्न ठाउँबाट लप्सी किनेर जम्मा पार्छिन् । संकलित लप्सीलाई राम्ररी पानीले पखालेर पाकेको र नपाकेको गरी दुई भाग लगाइन्छ । पाकेको लप्सीलाई पानीमा उमालेर बोक्रा, सेतो भाग (गुदी) र गेडा छुट्याउनुपर्छ । कति बनाउने सोही मात्रामा लप्सीको सेतो भाग छुट्याइन्छ । त्यसपछि कुन पाउँ बनाउने हो, त्यसको स्वादअनुसार चिनी, हिङलगायत कच्चापदार्थ राखेर घोल्नुपर्छ । घोलिएको कच्चापदार्थलाई फलेकमा राखेर लेप लगाइन्छ । पाउँअनुसार कुनैलाई लेप त कुनैलाई डल्लो बनाएर फलेकमा सुकाउनुपर्छ । लेप सुकेपछि आकार दिइन्छ भने डल्लोलाई यत्तिकै प्याकेजिङ गरेर बजार पठाइन्छ । लप्सीको बोक्रालाई मिक्स्चरमा राखेर मसिनो बनाइन्छ र सेतो भागलाई सफा ड्रममा संकलन गरिन्छ । मिक्स्चरमा पिसेको बोक्रालाई ठूलो फलेकमा पातलो गरी लेप लगाई सुकाउनुपर्छ । सुकेको टुक्रालाई फेरि मिक्स्चरमा पिसेर धूलो बनाइन्छ । लप्सीको बोक्राबाट बनेको उक्त धूलो अमिलो चुकको रूपमा खानेकुरामा प्रयोग गर्न सकिने देवका बताउँछिन् ।    

( कान्तिपुर दैनिक )