६ माविमा शिक्षक दरबन्दी शून्य
News Desk
Mar-10 , 2022 तारिख 11:01 बिहान

रोल्पा — २६ फागुन २०७८    

रोल्पा , रोल्पाको सुनछहरी गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकको दरबन्दी छैन । यहाँ सञ्चालित सबै माविमा अभिभावकले संकलन गरेको स्रोतबाट करारमा शिक्षक नियुक्त गरिएका छन् । गाउँपालिकाभरिकै मावि करार शिक्षकको भरमा छन् । गाउँपालिकाका अनुसार जिल्लाको शैक्षिक अवस्थाको तुलनामा यो गाउँपालिका निकै पछि परेको छ । यहाँको सामाजिक र आर्थिक अवस्थासमेत दयनीय छ । ‘स्थानीय तहले सुरुदेखि नै शैक्षिक र सामाजिक चेतनाको विकास गर्न ध्यान दिँदै आएको छ,’ गाउँपालिका अध्यक्ष आशबहादुर पुनले भने, ‘तैपनि यहाँको अवस्था अपेक्षाकृत सुधार गर्न सकिएको छैन ।’ सिंगो गाउँपालिकाको जनसंख्या १६ हजार छ । गाउँपालिकाको साक्षरता प्रतिशत ४७.२८ छ । आधारभूत तहका औपचारिक शिक्षा प्राप्त ६८.३ प्रतिशत छन् भने स्नातक वा त्यसभन्दा उच्च शिक्षा प्राप्त गरेका २६ जना मात्रै छन् ।

गाउँपालिकालाई यस्तो शैक्षिक अवस्थाबाट माथि उकास्न सके विकासको मुख्य धारमा ल्याउन सकिने गाउँपालिकाका अध्यक्ष पुनले बताए । ‘यहाँका विद्यालयहरूमा पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग समन्वय र सम्पर्क गर्दै आएका छौं,’ उनले भने, ‘तर प्रभावकारी योजना बन्न सकेको छैन ।’ गाउँमा सडक, विद्युत्, खानेपानी, सञ्चार क्षेत्रको विकास गर्नमा स्थानीय तहको बजेट खर्चेको उनको अनुभव छ । शिक्षा क्षेत्रको समुचित विकास गरेर जनचेतना बढाउन सकिने उद्देश्यले २०७५ मा गाउँपालिकाको समग्र क्षेत्रको अध्ययन गरेको उनले बताए ।  प्राप्त तथ्यांकअनुसार शिक्षाको अवस्था निकै दयनीय पाइएको हो । यहाँ विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कम छ । विद्यार्थी ५ हजार बढी भएकामा शिक्षक संख्या १ सय ९३ छ ।

यहाँ एक निजी र ३२ वटा सामुदायिक विद्यालय छन् । शिक्षक दरबन्दी नै नभएका ६ वटा माध्यमिक विद्यालयमा कार्यरत सबै शिक्षक करारका छन् । केही रकम गाउँपालिकाले व्यहोरे पनि अधिकांश शिक्षकलाई तलब जुटाउन अभिभावकले महिनावारी चन्दा संकलन गर्दै आएको बताए । गाउँपालिकामा करिब ३ सय बालबालिका अझै पनि विद्यालय बाहिरै रहेको तथ्यांक छ । विद्यालयबाहिर रहेका बालबालिकाले शिक्षा पाउने अवसर गुमाएको बालबालिकाको क्षेत्रका अध्ययन गर्दै आएका अध्येता एवं लिबाङस्थित जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक गोकर्ण पुनले बताए । 

( कान्तिपुर दैनिक )